बिहीबार, असार १२, २०८२

उपत्यकामा आजदेखि भिड गरे, मास्क नलगाए कारबाही !

नेपालखोज २०७८ पुष २८ गते १०:०९
फाइल फोटो

काठमाडौं । काठमाडौंका सार्वजनिक स्थानमा आजदेखि २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । गएराति १२ बजेबाट लागु हुनेगरी हिजो (मंगलवार) दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णय अनुसार सार्वजनिक स्थानमा भिडभाड गर्न रोक लगाइएको हो । यसैगरी कुनै पनि सभा, भेला, जुलसुलगायतका भिडभाड हुने कार्य पनि आजैदेखि रोकिएका छन् ।

सार्वजनिक यातयातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु नचढाउन, गाडीमा मास्क अनिवार्य गर्न र स्वास्थ्यका अन्य सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत प्रशासनले आग्रह गरेको छ । यसैबीच,कोरोना सम्बन्धी आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुरक्षा निकायबाट आकस्मिक र नियमित अनुगमन गरिने भएको छ । सुरक्षा निकायले अनुगमन गर्दा मापदण्ड अवज्ञा गरेको पाइए संक्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

यता माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक हेर्दा पनि काठमाडौं उपत्यकामा बढ्दो छ । २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा मात्र १ हजार २८६ जना संक्रमित भेटएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा कोराना संक्रमण नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीहरूले गरेको महत्त्वपूर्ण १८ निर्णयहरू आजैबाट लागु हुनेछ ।

प्रतिक्रिया