भारतको नेपाली भूमि बलमिच्याईमा सरकार किन मौन : नेकपा एमाले

नेपालखोज २०७८ पुष २८ गते १०:३७

काठमाडौं । नेकपा एमालेले सहमतिविपरित भारतीय पक्षबाट नेपाली भूमिमा सडकसहितका संरचना निर्माण गरेकोमा आपत्ति जनाएको छ । एमालेले विज्ञप्ति जारी गर्दै नेपाल र भारतबीच भएको सहमति अनुसार भारतले निर्माण कार्य तत्काल रोक्नुपर्ने माग गरेको हो ।

परराष्ट्र विभागका प्रमुख डा राजन भट्टराईले जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुगेको भन्दै भारतलाई तत्काल संरचना निर्माणका काम रोक्न भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक-प्रशासनिक नक्सा एवं सविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै छ । ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कुटनीतिक पहल सुरु गरेको यथार्थ पनि स्पष्ट छ ।’

वार्ताबाट समाधान खोज्न एमालेले अनुरोध समेत गरेको छ । सरकारको मौनताले विभिन्न प्रश्न जन्माएको भन्दै एमालेले नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ । हाम्राे पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याई रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।’

प्रतिक्रिया