‘ममाथि अत्याचार भयो, न्यायका लागि अदालतको ढोका ढकढक्याउँछु’

नेपालखोज २०७८ पुष २८ गते १४:५४

काठमाडौं । सरकारले आफूमाथि गलत आरोप लगाएर अन्याय गरेको विवादित बतास ग्रुपका अध्यक्ष आनन्दराज बतासले तर्क गरेका छन् । उनले एकतर्फी रूपमा सत्य, तथ्य र प्रमाणबिनाका आधारमा आफूलाई फसाइएको जनाए । नारायणहिटी संग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया निर्माणसम्बन्धी खबर एकतर्फी रूपमा बाहिरीको उनी बताउँछन् । मन्त्रालय र केही सञ्चारमाध्यमहरूले पनि आफ्नो धारणा नबुझीकन समाचार बाहिर ल्याएको बतासको आरोप छ । उनले ‘हड्पेको’ र ‘कब्जा’ शब्द खाली सञ्चारमाध्यमको मात्रै भएको भन्दै आक्रोश पोखेका छन् ।

सञ्चारकर्मीले नभइ सरकारले नै विभिन्न प्रमाणका आधारमा तपाईंलाई आरोप लगाएको हैन र ? भन्ने नेपालखोजको जिज्ञासामा उनले आमसञ्चारमाध्यमका कारण सरकार पनि कन्फ्युज भएको तर्क गरे ।

अध्यक्ष बतासले पत्रकारको न्यूनतम धर्म सम्बन्धित पक्षको राय लिनु भएको तर आफूसँग त्यसो नगरिएको उनले जनाएका छन् । उनले एकतर्फी रूपमा समाचार प्रकाशन तथा प्रसारण गरी जनतामा भ्रम फिँजाउने काम गरेका भन्दै सञ्चारकर्मीमाथि आक्रोश व्यक्त गरे । व्यक्तिगत र संस्थागत रूपमा आफूबाट कुनै पनि गलत काम नभएको उनको जिकिर छ ।

सरकारले नारायणहिटी दरबारमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालन गर्न टेन्डर आह्वान गरेपछि आफूले चासो देखाएको बतास समूहको दाबी छ । तर टेन्डर परेपछि त्यहाँको जग्गा अनधिकृत रूपमा बतासले कब्जा गरेको सरकारको आरोप छ ।

आफू र आफ्नो समूहले अनधिकृत रूपमा जग्गा कब्जा गरेको भन्ने सरकारको आरोपप्रति असहमति जनाउँदै बतास भन्छन्, नारायणहिटी म्युजियम व्यवस्थापन समितिले २०६७ सालमै भवन बनाइसकेको रहेछ, स्थायी संरचना बनाएको छ, २०६७ सालदेखि त्यसलाई त्यत्तिकै खाली राखिएको रहेछ । एक वर्षअघि नारायणहिटी व्यवस्थापन समितिले क्यान्टिन सञ्चालन गर्न इच्छुक कम्पनी वा व्यक्तिहरूलाई टेन्डर आह्वान गर्यो ।’

नारायणहिटी दरबार संग्रहालयमा बनाइने भनिएको क्याफ्टेरियाका लागि कसैले ३५ दिनसम्म टेन्डर नहालेको बतास बताउँछन् । १५ दिनपछि टेन्डरका लागि पुनः सूचना निकालेपछि आफू र आफ्नो कम्पनीलगायत अरुले टेन्डर हालेको उनको भनाइ छ । टेन्डर प्रतिस्पर्धामा परेपछि सम्झौता गरेर क्यान्टिन÷क्याफ्टेरिया बनाउने जिम्मेवारी लिएको बतासको दाबी छ ।

नेपालखोजसँग विशेष कुराकानी गर्दै बतासले पर्यटन मन्त्री प्रेम आलेलाई अहिले राणातन्त्र र पञ्चायती शासन नभएको बुझ्न चेतावनी दिएका छन् । देशमा संविधान, ऐन, नियम, कार्यविधि, नियमावली भएको बताउँदै बतासले टेन्डर निकालेर बतास समूह प्रतिस्पर्धामा आएको कुरा बुझ्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री आलेले नबुझीकन आफ्नै लोकप्रियताका लागि गैरकानुनी काम गरेको बतासको आरोप छ । मन्त्री आलेले गैरकानुनी किसिमले काम गरे पनि आफू इमानदार व्यवसायी भएकाले कानुन र संविधानको मर्मअनुसार अघि बढेको दाबी गरे ।

नारायणहिटी संग्रहालय परिसरमा कफी हाउस निर्माण गर्न टेन्डरमार्फत कानुनसम्मत तरिकाले भाग लिएको बतास समूहको दाबी छ । नाटकीय किसिमले आफूले निर्माण गरेको संरचना भत्काइदिएको बतासको भनाइ छ ।

मन्त्री आलेले निर्माणकार्य रोक्न पठाएको पत्रअनुसार काम रोेकेको र भोलिपल्ट भत्काउनू भनेर पत्र आउँदा भने नभत्काएको उनी बताउँछन् । पर्सिपल्ट भाडा तिर्न पत्र आउनेबित्तिकै भाडा पनि तिरेको विवादित बतास समूहको दाबी छ । गल्तीबिना गैरकानुनी तरिकाले सरकारले बन्दै गरेको संरचना भत्काएको बतासको भनाइ छ । करार नै रद्द नगरीकन भत्काउने काम ठीक नभएको समूहको दाबी छ ।

आफूमाथि गलत आरोप लगाएर अत्याचार गरिएको जनाउँदै उनले अब न्याय खोज्न अदालतको ढोका जाने बताए । उता नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिन सञ्चालन गर्न मिलेमतोमा ठेक्का दिएको भन्दै छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाइसकेको छ । यस्तै अनधिकृत रूपले जग्गा मिच्न प्रोत्साहन गरेको निष्कर्ष मन्त्री आलेलाई बुझाइएको सातबुँदे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया