शनिबार, जेठ ५, २०८१

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

नेपालखोज २०७८ पुष २८ गते १५:४०

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा (एजीएम) ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । आईपीओ निश्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।

नर्भिक अस्पतालको हालको चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर १०० करोड पुगाउने प्रस्ताव समेत पारित गरेको छ । नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ५६ लाख खूद मुनाफा आर्जन गरेको थियो । मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ ।

वार्षिक साधारणसभामा संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको बताए । कार्यक्रममा नर्भिकका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा संचालक र सेयरधनीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया