‘संसदमा सरकार र प्रतिपक्षको भेट संवैधानिक बाध्यताले’

नेपालखोज २०७८ पुष २८ गते १७:४२

काठमाडौं । कर्णाली प्रदेशका प्रमुख विपक्षी दलका नेता नेता यमलाल कँडेलले असारको ३० गतेदेखि पहिलो पटक संसदमा सरकार र प्रतिपक्षको भेट संवैधानिक बाध्यताले गराएको बताएका छन् । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा नेता कँडेलले संवैधानिक बाध्यता नभएको भए भेट नहुने बताए ।

उनले नयाँ मुख्यमन्त्री बनेको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यताले भेट गराएको स्पष्ट पारे । उनले भने, ‘सांसदले प्रश्न उठाउँछ तर सरकारले सुन्दैन । समान्य परामर्श समेत नभएको अवस्थाबाट हामीले के देख्यौं भने उहाँहरु बिना रोकटोक हिड्न खोजिरह्नु भएको छ । अब समय जति बाँकी छ प्रभावकारी हुने कुरा गर्नु राम्रो हुन्छ ।’

वर्तमान सरकार राज्यको स्रोत साधनको दुरुपयोग गरेर गठबन्धन टिकाउन लागिरहेको आरोप पनि कँडेलले लगाए । कँडेलले मुख्यमन्त्री नियुक्त भएको लामो समयसम्म सरकारलाई पुर्णता नदिएर राज्यको स्रोत साधनमा गठबन्धन टिकाउन अहिलेका मुख्यमन्त्री लागिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘प्रदेश सरकारले अहिले ५ देखि १० लाखका योजना बाँड्दै हिँडिरहेको छ । यी योजनाहरुको अनुगमन कसरी कहाँ गर्ने हो ।’

नेता कँडेलले कुन मन्त्रालयका कति योजना वितरणमुखी छन् त्यसको संसदमा सूचीकरण गरिनुपर्ने बताए । उनले भने, ‘यो सरकार व्यवहारमा नभई अभिलेखमा सीमित छ । व्यवहारमा अनुभूती गर्ने गरी सरकार अघि बढे एमालेले सहयोग गर्छ । गठबन्धन टिकाउन झ्याल झ्यालमा मन्त्रालयका साईन बोर्डहरु टाँसिएका छन् ।’

प्रतिक्रिया