शनिबार, वैशाख १५, २०८१

जर्मनमा एक दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

नेपालखोज २०७८ पुष २९ गते १३:१८

बर्लिन । जर्मनमा अहिले दिन प्रतिदिन कोभिड-१९ का सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार बुधबार मात्र यहाँ त्यस अघिको २४ घन्टामा ८० हजार ४३० जना संक्रमित भेटिएका छन् ।

यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै एकै दिनमा देखिएको यो सबैभन्दा धेरै संख्या हो । यहाँका अधिकारीहरुले जर्मनीमा ठुलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन् । उनीहरुका अनुसार यहाँ ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् ।

त्यस्तै यहाँका करिब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर पनि पछिल्लो समयमा यहाँका ठूलो संख्याका नागरिकमा सङ्क्रमण बढ्दै गएको पाइएको छ ।उता युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोनाको सङ्क्रमण बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जनाएको छ ।

सो संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । रासस/सिन्ह्वा

प्रतिक्रिया