सोमबार, असार २३, २०८२

नेपालको व्यापार घाटा सात खर्ब ३५ अर्ब ४९ करोड पुग्यो

नेपालखोज २०७८ पुष २९ गते १७:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीसम्वन्धी चालु आर्थिक वर्षको पाँच महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार मुलुकको निर्यात व्यापार सुधार देखिएको छ । सोअनुसार चालु आवको पाँच कुल वस्तु निर्यात एक सय पाँच दशमलव छ प्रतिशतले वृद्धि भई एक खर्ब दुई अर्ब ९२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात पाँच दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ३८ प्रतिशत र २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात एक दशमलव चार प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७८–०७९ को पाँच महिनामा कुल वस्तु आयात भने ५९ दशमलव पाँच प्रतिशतले वृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नौ दशमलव छ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४ दशमलव छ प्रतिशत, ५७ दशमलव आठ प्रतिशत र एक सय ११ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेललगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, किटनाशक, सुर्तीलगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कञ्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८–०७९ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४ दशमलव सात प्रतिशतले वृद्धि भई सात खर्ब ३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १० दशमलव नौ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा निर्यात–आयात अनुपात १२ दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव पाँच प्रतिशत रहेको थियो । समिक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ९२ अर्ब ३४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ अर्ब ८१ करोड बराबरको भएको थियो । समिक्षा अवधिमा खुद सेवा आय ३८ अर्ब ५२ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ५५ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समिक्षा अवधिमा भ्रमण आय दुई सय ३९ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई अर्ब ३२ करोड रहेको थियो ।

समिक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय एक सय सात प्रतिशतले वृद्धि भई २३ अर्ब ८३ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्याय १३ अर्ब ५३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ११ अर्ब ५१ करोड रहेकोमा शिक्षातर्फको व्यय नौ अर्ब ८१ करोेड रहेको थियो ।

प्रतिक्रिया