बिहीबार, वैशाख ६, २०८१

पीएम कप : एपिएफले तेस्रो जित निकाल्दा सुदूरपश्चिमको पहिलो जित

नेपालखोज २०७८ पुष २९ गते २०:५९

काठमाडौं । विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । मूलपानी मैदानमा बिहीबार भएको खेलमा विभागीय टोली एपिएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ । एपीएफले यस अघि प्रदेश २ र बागमती प्रदेशलाई पराजित गरेको थियो । यता गण्डकीको लगातार दोस्रो पराजय हो । यस अघि गण्डकीले पहिलो खेल प्रदेश २ विरुद्ध २ विकेटले हारेको थियो ।

गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रनको योगदान गरेपनि जितका लागि पर्याप्त हुन सकेन । विधान श्रेष्ठले २९ रनको योगदान गर्दा अर्जुन कुमालले ८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन् । गण्डकीलाई सस्तैमा समेट्ने क्रममा एपीएफका कमल ऐरीले तीन विकेट हात पारे भने किशोर महतोले दुई तथा अविनाश बोहराको नाममा एक/एक विकेट रह्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८.४ ओभरमा सबै विकेट गुमाएर ९२ रन जोडेको थियो । एपीएफका लागि प्रदिप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रनको योगदान गरे । गण्डकीका कमल परियारले सर्वाधिक तीन विकेट हात पारे । विशाल पौडेलले दुई विकेट लिए । कृष्ण पौडेल, सुवाश भण्डारी र चन्द्र पौडेलले एक–एक विकेट हात पारे ।

समूह ‘ए’ अन्तर्गत त्रिवि मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदुरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यस अघि सुदुरपश्चिम पहिलो खेलमा पुलिस क्लबसँग दुई रनले हारेको थियो । यता पराजित कर्णालीले तीन खेलमा दोस्रो पराजय भोगेको छ । यस अघि कर्णालीले त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोग्दा प्रदेश नंम्बर १ लाई ३१ रनले हराएको थियो ।

१ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६ रन जोड्न सक्यो । कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन् । अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मदतमा ३० रन जोडे । कर्णालीको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा शेर मल्लले सर्वाधिक ४ विकेट निकाले । हेमन्त धामीले दुई विकेट हात पारे । आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले एक–एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो । सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गर्दा वसन्त कार्कीले २८ रन जोडे । दिपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे । कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । रविन्द्र शाही र दिवान पुनले दुई–दुई विकेट लिए भने दिनेश अधिकारीले एक विकेट निकाले ।

यसैबीच मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर १ बीचको खेल मैदानमा पानी परेका कारण कारण हुन सकेन । कीर्तिपुर मैदानमा नै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ४२ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकाल्यो । यता प्रदेश नम्बर २ ले तीन खेलमा दोस्रो पराजय भोगेको छ ।

बिहीबारको खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रनमात्र जोड्न सक्यो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे । हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए । बलिङ तर्फ लुम्बिनीका अनिल खरेलले सर्वाधिक ५ विकेट हात पारे । कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले एक–एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो । लुम्बिनीका लागि देव खनालले अर्धशतकिय इनिङ्स खेले । खनालले ३८ बलमा ५४ रन जोड्दा चार चौका र दुई छक्का प्रहार गरे । बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन जोडे । बलिङमा प्रदेश २ का विवेक यादव र रुपेश सिंहको नाममा समान दुई–दुई विकेट रह्यो । हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान एक–एक विकेट हात पारे ।

प्रतिक्रिया