शुक्रबार, वैशाख १४, २०८१

आज चार खेल हुँदै : प्रधानमन्त्री कप टी–२०

नेपालखोज २०७८ पुष ३० गते ९:३६

काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगितामा चार खेल हुँदैछन् । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा समान २–२ खेल हुने छ ।

कीर्तिपुरमा हुने पहिलो खेलमा कर्णाली प्रदेशले शीर्ष स्थानको नेपाल पुलिससँग भिड्नेछ । प्रतियोगितामा पुलिसको ४ अंक छ । यस्तै तीन खेलबाट २ अंक जोडेको कर्णालीले अन्तिम खेलमा पुलिसलाई रोक्दै सेमिफाइनल प्रवेश सम्भावना कायमै राख्न चाहान्छ ।

कीर्तिपुरमा हुने दोस्रो खेलमा दिउँसो समूह–बी को बागमतीले प्रदेश २ को सामना गर्नेछ । बागमतीले २ खेलबाट २ अंक जोडेको छ । प्रदेश २ ले ३ खेलबाट समान २ अंक नै बटुलेको छ । आज अन्तिम खेलमा अंक जोड्दै प्रदेश २ सेमिफाइनल प्रवेश सम्भावना कायमै राख्न चाहन्छ भने बागमती प्रदेश २ लाई पराजित गर्दै सेमिफइनल पुग्न चाहान्छ ।

मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ । ३ खेलबाट ३ अंक जोडेको आर्मीले खेल जित्नैपर्ने दबाब छ । यस्तै एक खेल कम खेलेको सुदूरपश्चिम पनि आर्मीलाई पन्छाउँदै सेमिफाइनलतर्फ अगाडि बढ्ने प्रयासमा हुनेछ ।

यस्तै आजै हुने मुलपानीको दोस्रो खेलमा समूह–बी शीर्ष टोली एपीएफले लुम्बिनी प्रदेशको सामना गर्नेछ । लगातार तेस्रो जितसहित सेमिफाइनल नजिक पुगेको विभागीय टोली अंक जोड्दै समूह विजेताका रूपमा सेमिफाइनल पुग्नेछ । यता २ खेलमा २ अंक जोडेको लुम्बिनी एपिएफलाई रोक्दै सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न चाहन्छ ।

प्रतिक्रिया