शुक्रबार, वैशाख १४, २०८१

अब शीर्ष डिभिजन लिग हेर्न मैदान जान्नँ, टेलिभिजनमै हेर्छु

नेपालखोज २०७८ पुष ३० गते १५:००

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् । आज सामाजिक सन्जालमामार्फत उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदान गएर नहर्ने बरु टेलिभिजनबाटै हेर्ने जनाए ।

पछिल्लो समय लिग खेलिरहेका खेलाडीलाई होटेलमा बोलाएर १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससँगको खेलमा खेलाडीलाई ‘विभिन्न होमवर्क’ दिएको विषय बाहिर आउनु र क्लबले समेत अखिल नेपाल फूटबल संघ (एन्फा) मा पत्र काटेपछि कुवेती नागरिक अब्दुल्लाहले सामाजिक सन्जालमा आक्रोश व्यक्त गरे । उनले खेलाडीलाई मौरिसससँगको खेलमा कुनै दबाब नदिएको बताएका छन् । उनले भने, ‘मैले कहिल्यै पनि खेलाडीलाई लिगको खेलमा सय प्रतिशत दिएर नखेल्नू भनेको छैन । मलाई विश्वास छ, क्लबमा सय प्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि सय प्रतिशत दिँदैन ।’

उनले आफ्नो उपस्थितिले खेलाडी र क्लबलाई दबाब सिर्जना भएको हो भने मैदान नगई लिग हेर्ने बताए । उनले भने, ‘मलाई विश्वास छ, क्लब र लिग नै फुटबल विकासको मुख्य आधार हो । त्यसकारण मैले कसरी खेलाडीलाई सय प्रतिशत दिएर नखेल भन्न सक्छु ।’

प्रतिक्रिया