शनिबार, वैशाख ८, २०८१

‘परिवारमा गरिबी थियो, विदेशीको झोला बोक्न सगरमाथा चढेँ’

आफ्नो दाइ पनि गुमाएपछि हिमाल नचढ्ने भनेर कसम पनि खाएँ । गाउँ फर्किएँ । तर बाध्यताले गर्दा एक वर्षपछि फेरि विदेशी पर्यटक डोर्याउने काम गर्ने निधो गर्दै म हिमालतिरै फर्किएँ ।

नेपालखोज २०७८ पुष ३० गते १९:५४

फुर्वा तेन्जिङ शेर्पा अहिलेसम्म १४ पटक हिमाल चढेका छन् । दोलाखाको विकट रोल्वालिङ गाउँको गरिब परिवारमा जन्मिएका उनले पढ्न पाएनन् । १६ वर्षको उमेरदेखि हिमालमा पाइला राखेका उनले १७ वर्षको उमेरमा सन् २००७ मा पहिलोचोटि सगरमाथा चढेका थिए । उनको सगरमाथा चढ्नु रुचि नभई बाध्यता थियो । पारिश्रमिक पाउने गरी उनले विदेशी पर्यटकलाई हिमाल चढाउन सुरु गरे । अन्ततः परिवारको गरिबीसँग जुध्न सगरमाथा चढ्ने काम गरेका उनले विश्व रेकर्ड नै कायम गरे । नेपालखोजका लागि केशव भट्टराईले हिमाल चढ्न सुरुवात गर्नुपर्ने कारण, हिमाल आरोहणका चुनौतीलगायत विषयको सेरोफेरोमा रहेर शेर्पासँग विशेष कुराकानी गरेका छन् ।

हाइलाइटस :
–सगरमाथा चढ्नु मेरो रहरभन्दा पनि बाध्यता थियो । म जन्मिएको रोल्वालिङ गाउँ हो, यो दोलाखा जिल्लामा पर्छ । गाउँमा स्कुल नभएकाले पढ्न पाइनँ ।
–तेन्जिङ नोर्गे र एडमन्ड हिलारी सगरमाथा चढ्न हाम्रै गाउँ रोल्वालिङबाट प्रवेश गरेका थिए रे । काठमाडौंबाट हाम्रो गाउँ एकदमै टाढा छ, पहिले झन्डै एक साता लाग्थ्यो । गाडीको सुविधा हुँदा पनि पुग्न अझै तीन दिन लाग्छ ।
–हाम्रा बाउबाजेहरू किसान हुन् । भेडा र याकहरू मात्रै पाल्ने गर्थे । विद्यालयमा पढ्न पाइनँ । आर्थिक अवस्था पनि कमजोर थियो । बाध्यतै भएर पैसा कमाउन हिमाल चढ्नुपर्यो ।
–सन् २००६ मा चारजना शेर्पाको मृत्यु भयो । त्यसमा मेरो दाजु पनि पर्नुभयो । म १६ वर्षको थिएँ । आफ्नो दाइ पनि गुमाएपछि हिमाल नचढ्ने भनेर कसम पनि खाएँ । गाउँ फर्किएँ । तर बाध्यताले गर्दा एक वर्षपछि फेरि विदेशी पर्यटक डोर्याउने काम गर्ने निधो गर्दै म हिमालतिरै फर्किएँ ।
–परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकाले पैसा मात्रै कमाउने सोच हुन्थ्यो । सगरमाथा चढ्दा नाम र रेकर्ड हुन्छ भन्ने पत्तै थिएन । १७ वर्षको उमेरमा विदेशीलाई सगरमाथाको चुचुरोमा पुर्याएबापत चार लाख रुपैयाँ कमाएको थिएँ ।
–म पर्यटकलाई २५ किलोसम्मको झोला बोकेर चुचुरोसम्म पुर्याएबापत पैसा लिने गर्थेँ । नौचोटि सगरमाथा चढिसकेको थिएँ । पत्रपत्रिका र टेलिभिजनमा नौचोटि चढ्ने युवा भनेर सार्वजनिक भयोे ।

विदेशीको झोला बोक्दै सगरमाथा चढ्थेँ, विश्व रेकर्ड भएको पत्तै पाइनँ

–रेकर्डका लागि भनेर चढेको थिइनँ । मलाई मिडियाले खबर सार्वजनिक गरेपछि खुसी लाग्यो । पैसा कमाउने काम (ड्युटी) गर्दागर्दै सगरमाथा चढेको विश्व रेकर्ड नै हुन पुगेछ ।
–२४ वर्षको उमेरमा म नौचोटि सगरमाथा चढेँ । त्यो पनि एउटा रेकर्ड हो । सन् २०१४/१५ सगरमाथामा एकदमै कालो दिन बनेको थियो । हिमपहिरोमा १४ जना शेर्पाको एकैपटक मृत्यु भयो । भूकम्पका कारण १८ जनाको मृत्यु पनि भयो ।
–हाम्रो परिवारको ब्याकग्राउन्ड भनेको हिमाल चढ्ने नै हो । सगरमाथा चढ्दै जाने क्रममा एकै परिवारका एकैपटक धेरै सदस्य सगरमाथा चढेको गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि कायम भयो ।
–विश्वमै हिममानव भनेर शेर्पाहरू चिनिन्छन् । पहिले शेर्पाहरू बाध्यताले हिमाल चढ्थे । अहिले रहरले । आधुनिकताको विकाससँगै शेर्पाले अरु अवसर खोजिरेहका छन् । शेर्पाको सगरमाथा चढ्ने पहिचान गुम्ने सम्भावना छ ।

प्रतिक्रिया