ज्ञवाली भन्छन् – सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोज्यो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिस अनुसार सरकारले कुनै निर्णय नगरेको बताए ।
उनले सरकारले स्थानीय तहको निर्वाचनलाई पन्छाउन खोजेको आशंका पैदा भएको भन्दै एमालेले त्यस्तो हुन नदिने बताए । समयमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने उनको भनाई छ ।
उनले सरकारले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीहरुलाई उम्काउने प्रपञ्च गरेको बताए । सिआइबिले दुई वर्ष लगाएर गरेको अनुसन्धान सरकारी वकिलको कार्यालयले फिर्ता गरेर भ्रष्टाचारीहरुलाई ढाकछोप गर्न खोजेको उनले बताए ।
सरकारी वकिलको कार्यालयले अधिकारको दुरुपयोग गरेको उनको भनाई छ । सरकारी वकिलको कार्यालयबाट मुद्धा गरेर मुद्धालाई ढिसमिस पार्न लागिएकाले यसको विरुद्ध एमालेले सशक्त दबाब सिर्जना गर्ने उनले बताए ।
उपमहासचिव ज्ञवालीले लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको सम्बन्धमा सरकारले भारतीय पक्षसँग कुरा गर्नुपर्ने बताए । नेपालको भूभागमा भारतले बलमिच्याइँ गरेको विषयमा सरकार बोल्नुपर्ने उनले बताए । देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुनेपनि उनले उल्लेख गरे ।
उनले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायालय सुधारको निम्ति नभएको टिप्पणी गरे । एक व्यक्तिलाई प्रधानन्यायाधीशबाट हटाएर अर्को व्यक्तिलाई ल्याउनको निम्ति मात्रै सो आन्दोलन केन्द्रीत रहेको उनले बताए ।
उनले संसद् सुचारु गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचमा सकारात्मक छलफल भएको भन्दै आगामी दिनमा समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया