जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका ६, धरमपानीमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । ग.१ज ६५५५ नम्बरको जिप दुर्घटनामा परी चारजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बन्दीपुर ६, धरमपानीका ९ महिने बालिका आरुबी थापा, सोही ठाउँका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
दुर्घटनामा सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया शमिसा थापा र सातमहिने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । -रासस

प्रतिक्रिया