शनिबार, वैशाख १५, २०८१

‘माघीले नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याएको छ’

नेपालखोज २०७८ माघ १ गते ८:२३

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख गुरुङद्वारा आज जारी शुभकामना सन्देशमा जातीय तथा धार्मिक-सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउने र नयाँ वर्ष मान्ने गरेको उल्लेख छ । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउने गरेको उल्लेख गर्दै उनले हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको बताए ।

तरुल, सखरखण्डजस्ता कन्दमूल तथा घिउ, चाकु, तिलको लड्डु र खिचडीलगायत परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याएको शुभकामना सन्देश उल्लेख छ । प्रदेश प्रमुख गुरुङले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्नु हामी सबैको दायित्व भएको बताउँदै यस पर्वले सम्पूर्ण नेपाली बीचमा बन्धुत्व र हार्दिकता कायम गर्दै सबै नेपालीबीच शान्ति, एकता, सद्भाव तथा सहिष्णुता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया