बिहीबार, वैशाख १३, २०८१

जसले वेदांतलाई आधुनिकतामा व्याख्या गर्‍यो…

‘जुन दिन इस्लामी देहमा वेदान्ति मन हुन्छ त्यो दिन मानवीय उत्सर्गको दिन हुनेछ ।’

सुनील सापकोटा २०७८ माघ १ गते १६:०१

अस्ति १२ जनवरी, स्वामी विवेकानन्दको १५९औं जन्मदिन परेको रहेछ । मलाई मनपर्ने दुई-चारजना सन्तहरुमा उहाँ पनि एक हो । स्वामी विवेकानन्दको जन्म १२ जनवरी १८६३ मा दिन बंगाली कायस्थ कुलीन परिवारमा भारतको कलकत्तामा भएको थियो । संन्यास लिनुभन्दा अगाडि उहाँको नाम नरेन्द्रनाथ दत्त थियो । कलकत्तामा विज्ञान विषयमा स्नातकको अध्ययन गर्दा-गर्दै ईश्वर छ वा छैन् भन्ने सिलसिलामा उहाँ भौतारिँदा रामकृष्ण परमहंसको चेला बन्न पुग्नुभयो । ३९ वर्षको अल्पायुमा उहाँको निधन भयो ।

विवेकानन्द हिमालय पहाडको गुफा वा कुनै जंगलमा बसेर तपस्या गर्ने साधु होइन । उहाँको धर्मप्रतिको दर्शन नै फरक छ । उहाँले वेदांतलाई आधुनिकतामा व्याख्या गर्नुभयो । उहाँ त्यतिबेलाको भारतको ३३ करोड जनतालाई देवता मान्नुहुन्थ्यो र प्रेम गर्नुहुन्थ्यो । विशेषगरी गरिब, दु:खी, उत्पीडित र भोका नांगालाई सेवा गर्नु नै ईश्वरीय सेवा हो भन्ने उहाँको मूल दर्शनको रुप हो । उहाँले त्यो बेला परम्परागत धार्मिक एवं सांस्कृतिक सोच, सामाजिक कुरितिहरु, जातीय भेदभाव तथा धनीले गरिबमाथि गरेको शोषण र अत्याचारहरुको खुलेर विरोध गर्नुभएको थियो। उहाँले त्यो बेला धर्म र विज्ञानको समन्वयको कुरा गर्नुभएको पाइन्छ ।

उहाँ भारतको गरिबीलाई कसरी हटाउन सकिन्छ भन्ने कुरामा चिन्तित हुनुहुन्थ्यो । उहाँ भारतलाई आध्यात्मिक शक्तिका साथै आर्थिक रुपले प्रगति भएको देशको रुपमा हेर्न चाहनुहुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो- ‘भोकोलाई धर्मको आवश्यकता छैन ।’

विवेकानन्द त्यो पहिलो भारतीय हुनुहुन्थ्यो जसले धर्मनिरपेक्षताको अर्थ बताउनुभयो । उहाँको विचारमा भारत हिन्दु, मुसलमान, सिख, इसाई, पारसी, बौद्ध, जैन आदि कसैको पनि एकल भूमि होइन । यो सबैको फूलबारी हो । उहाँ भन्ने गर्नुहुन्थ्यो- ‘जुन दिन इस्लामी देहमा वेदान्ति मन हुन्छ त्यो दिन मानवीय उत्सर्गको दिन हुनेछ ।’

‘भोकोलाई धर्मको आवश्यकता छैन ।’

विवेकानन्दले आज भन्दा १२५ वर्षअघि ११ सेप्टेम्बर १८९३ मा अमेरिकाको सिकागोमा ‘विश्व सर्व धर्म सम्मेलन’ मा हिन्दु धर्म र संस्कृतिको सुन्दर र सारगर्भित व्याख्या गर्नुभएको थियो । त्यो बेला उहाँको प्रखर भाषण सुन्नेहरु मन्त्रमुग्ध भएका थिए । उहाँले त्यो सम्मेलनमा हिन्दु धर्म र धर्मबारे धेरै कुरा भन्नुभएको पाइन्छ । उहाँले अमेरिकी भूमिमा उभिएर हिन्दु दर्शन र भारतीय संस्कृति, परम्परा एवं जनजीवनबारे परिचय गराएको पाइन्छ । उहाँको त्यो भाषण अत्यन्त लोकप्रिय भयो । उहाँले त्यहाँ के भन्नुभयो भने- ‘सबै धर्मले एउटै ईश्वरसम्म पुर्‍याउँछ ।’

अन्त्यमा, उहाँका बारेमा लेख्ने कुराहरु लेख्न यहाँ सम्भव छैन । उहाँ एउटा व्यक्ति मात्र भए पनि उहाँको विचारले एक सभ्य, सुसंस्कृत र न्यायपूर्ण समाज बनाउने बाटो देखाउँछ ।

प्रतिक्रिया