शुक्रबार, चैत १६, २०८०

कोभिड संक्रमण भएका बालबालिकाको हेरचाह कसरी गर्ने ?

नेपालखोज २०७८ माघ २ गते १०:२४

काठमाडौं । कोभिड-१९ को संक्रमण भएका धेरैजसो बालबालिकामा लक्षणहरू नदेखिन सक्छ वा उनीहरूमा सामान्य लक्षण देखिन सक्छ । लक्षण भएका बालबालिका मध्ये केहीलाई अस्पताल भर्ना गर्नपर्ने हुन सक्छ भने केही बालबालिका सिकिस्त बिरामी हुन सक्छन् । यस्ता बालबालिकालाई पूर्ण हेरचाहको आवश्यकता हुन्छ ।

परिवारका सदस्यको कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ आउँदा परिवारका सबै सदस्यको परीक्षण गर्नुपर्ने र त्यस्तो परीक्षणमा सामान्यतः लक्षण नभएका तर संक्रमण भएका बालबालिकाको पहिचान हुने गर्छ । यस्ता बालबालिकालाई होम आइसोलेसनमा रहँदा चिकित्सकको निर्देशनअनुसार लक्षणहरूको विकास र गाम्भीर्यताका आधारमा उपचार आवश्यकता भए/नभएको अनुगमन गर्नुबाहेक कुनै उपचारको आवश्यकता हुँदैन ।

सामान्य लक्षण भएका बालबालिकामा ज्वरो, खोकी, श्वास-प्रश्वासमा समस्या, थकान, मांशपेशी दुख्ने, नाकको दुखाइ, घाँटीमा खसखसावट, पखाला, गन्ध तथा स्वाद हराउनेलगायत हुन सक्छ । यस्ता बालबालिकालाई घरमै होम आइसोलेसन गरी व्यवस्थित गर्न सकिन्छ र चिकित्सकको निर्देशनमा व्यवस्थित उपचार गर्न सकिन्छ ।

‘मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ भनिने नयाँ लक्षणहरू केही बालबालिकामा देखापरेको छ, जसले गर्दा बालबालिकाले मुटु, फोक्सो, रक्त वाहिनाहरू, मिर्गौला, पाचन प्रणाली, मस्तिष्क, छाला वा आँखाजस्ता केही अङ्गहरुमा सुन्निएको अनुभव गर्छन् । चौबीस घण्टा वा त्योभन्दा लामो समयसम्म ज्वरो आउनु, बान्ता हुनु, पखाला लाग्नु, पेट दुख्नु, छालामा दाग देखिनु, असाधारण थकाइ महसुस हुनु, मुटुको धड्कन बढ्नु, छिटो सास फेर्नु, आँखा रातो हुनु, ओठ र जिब्रो रातो हुनु वा सुन्निनु, वा हात/खुट्टा रातो हुनु वा सुन्निनु, टाउको दुख्नु, चक्कर आउनु वा रिङ्गटा लाग्नु, शरीरका भाग फुल्नु इत्यादि यसका लक्षणहरु हुन् ।

जन्मजात हृदय रोग, फोक्सोको दीर्घरोग, अंगहरुले काम नगर्ने दीर्घरोग, मोटोपनासहितका अवस्थाहरू भएका बालबालिकामा यी रोगका सामान्य लक्षणहरू भएमा र यदि अवस्था खराब भइहालेमा नजिकैको कुनै स्वास्थ्य संस्थामा पुर्याउन सम्भव छ भने, यस्ता बालबालिकालाई पनि घरमा नै व्यवस्थित गर्न सकिन्छ । यदि घरमा व्यवस्थापन गर्न उचित अवस्थाको कमी भएमा र स्वास्थ्य संस्थामा सहज पहुँच नभएमा यस्ता बालबालिकालाई अस्पतालमा भर्ना गर्न सकिन्छ ।

यदि तपाईं कोभिड-१९को संक्रमण भएका बालबालिकाको हेरचाह गरिरहनु भएको छ भने-

बिरामी नानीले प्रशस्त झोलिलो र पोषणयुक्त खानेकुरा खान्छ र आराम गर्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस् ।

बिरामी नानीको साथ एकै कोठामा हुँदा मेडिकल मास्क लगाउनुहोस् । मास्क प्रयोगको क्रममा मास्क वा अनुहार नछुनुहोस् र प्रयोग पछि सुरक्षित ठाउँमा फालिदिनुहोस् । यदि तपाईंको नानी पाँच वर्षभन्दा माथिको छ भने, उसको नजिक जाँदा उसलाई पनि मास्क लगाउन दिनुहोस् ।
विशेषगरी निम्न अवस्थापछि साबुनपानीले नियमित हात धुने वा गुणस्तरीय स्यानिटाइजरले हात सफा गरिरहने गर्नुहोस् ।

-बिरामी नानीसँगको सम्पर्क वा उसको नजिक गएपछि
-खाना पकाउनुभन्दा अगाडि, पकाइरहेका अवस्थामा र पकाइसकेपछि
-खाना खानुअगाडि
-शौचालय प्रयोग गरिसकेपछि
-बिरामी नानीका लागि छुट्टै भाँडा, कप, थाल कचौरा, तौलिया (रुमाल) र तन्नाहरू प्रयोग गर्नुहोस् । बिरामी नानीले प्रयोग गरेका भाँडाहरु, थाल कचौरा, गिलास तौलिया अथवा तन्नाहरू साबुनपानीले सफासँग धुनुहोस् ।
-बिरामी नानीले प्रायः छुने स्थानहरूको पहिचान गर्नुहोस् र तिनीहरूलाई दैनिक निर्मलीकरण गरी सफा गर्नुहोस् ।
-बिरामी नानीको अवस्था नाजुक भएमा वा श्वास-प्रश्वासमा समस्या भएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

कोभिड-१९ बाट बिरामी बालबालिकाको हेरचाह गरिरहेका अभिभावक र हेरचाहकर्तालाई केही थप सुझावहरू-
-कोभिड-१९ का बारेमा कुरा गर्नुहोस् । तपाईंको नानीले पहिले नै यस बारेमा केही सुनिसकेको होला । मौनता र गोप्यताले तपाईंको नानीको सुरक्षा गर्दैन, बरु इमानदारिता र खुलापनले गर्दछ । तपाईंले आफ्ना बालबालिकालाई राम्ररी बुझ्नुहुन्छ त्यसैले उनीहरूले कति बुझ्न सक्दछन् भन्ने कुरा सोच्नुहोस् ।
-सहयोगी हुनुहोस् । तपाईंको नानी डराउन वा अलमलमा पर्न सक्छ । उनीहरूले कस्तो महसुस गरिहेका छन् भनेर नीहरूलाई आफ्नो कुरा भन्ने वातावरण दिनुहोस् र साथै उनीहरूको सहयोगमा आफूसँगै रहेको छु भन्ने विश्वस्त पार्नुहोस् ।

-अस्थायी रुपमा अरुबाट भौतिक दूरी कायम गरेर परिवारका अन्य सदस्यलाई सुरक्षित बनाउनु उसको महत्त्वपूर्ण काम हो भन्ने कुरा आफ्ना नानीलाई बुझाउनुहोस् ।
-बालबालिकालाई उनीहरू आफैंले आइसोलेसनमा अभ्यास गर्न सक्ने मनोरञ्जनात्मक गतिविधिहरु सोच्न प्रेरणा दिनुहोस् । खेल्दा, उफ्रँदा र नाच्दा रमाइलो हुन्छ नि !
-आइसोलेसनमा रहँदा गर्न नसक्ने कुरालाई औंल्याउनुभन्दा उनीहरूको सक्षमतालाई हौसला दिनुहोस् र उनीहरुको क्षमतालाई थप प्रस्फुटित गराउनुहोस् ।
-बालबालिकालाई आवश्यकता परेमा मात्र सहयोग गर्नुहोस् । धेरै सहयोग गर्नाले उनीहरूलाई आत्मनिर्भर हुनबाट रोक्छ।
-नियमित कार्यतालिकाले बालबालिकालाई सुरक्षित र भरपर्दो महसुस गर्न सहयोग गर्दछ । आफ्ना बालबालिकासँग उनीहरूले गर्न जानेका र रमाइलो मान्ने गतिविधिहरूको दैनिक कार्यतालिका बनाउनुहोस् ।
-फोनकलहरू वा अनलाइन च्याटमार्फत साथीहरू र परिवारका सदस्यहरूसँग सम्पर्कमा रहन आफ्नो नानीलाई सहयोग गर्नुहोस् ।
-बालबालिकालाई उनीहरूसँग वरिपरिका कुरामा नियन्त्रणको अनुभूति रहने विकल्पहरु उपलब्ध गराउनुहोस् ।
-युनिसेफ नेपाल

प्रतिक्रिया