शनिबार, जेठ ५, २०८१

६९ अंकले बढ्यो नेप्से, कसको कति कारोबार ?

कारोबार रकममा आज उल्लेख्य सुधार भएको छ । पछिल्लो समय दैनिक ५ देखि ७ अर्बबीच कारोबार हुँदै आएको थियो ।

नेपालखोज २०७८ माघ २ गते १६:०४

काठमाडौं । नेप्से परिसूचक आइतबार ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से चार महिनायताकै उच्च विन्दुमा पुगेको हो । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बजारले गति लिँदा लगानीकर्ता उत्साही देखिएका छन् । त्यस्तै आज ठूला कम्पनीको मूल्यमापक सेन्सेटिभ इन्डेक्स ११.८१ अंक, फ्लोट इन्डेक्स ४.६४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९९ अंकले बढेको छ ।

आइतबार कारोबारमा आएका २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । जसले नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँबराबरको कारोबार भएको हो । आज कारोबार रकमसमेत उल्लेख्य सुधार भएको छ । पछिल्लो समय दैनिक ५ देखि ७ अर्बको बीचमा कारोबार हुँदै आएको थियो ।

सेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर चार महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ५.६२ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बिमा र जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र होटेल तथा पर्यटन, लघुवित्त, म्युचुअल फन्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये मध्य भोटेकोसीको सेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशत बढेको छ । त्यसैगरी, हिमालयन डिस्टलरी, सिभिल बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । अरुण भ्याली हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनीको ७ प्रतिशतभन्दा बढी बढेको छ ।

तर यता बोटलर्स नेपालको सेयरमूल्य भने घटेको छ । कारोबार रकमका आधारमा ३२ करोड ४६ लाख ५९ हजार रुपैयाँबराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै, अपी पावर, अपर तामाकोसी, शिवम् सिमेन्ट्स, नेपाल इन्फ्रास्ट्रक्चरको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया