सबैले भवन संहिताको पूर्ण पालना गर्नुको विकल्प छैन

नेपालखोज २०७८ माघ २ गते १८:५४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपत् जोखिमबाट बच्नका लागि पनि सबैले भवन संहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

२४औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर आईतबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई ‘भर्चुअल’ माध्यामबाट सम्बोधन गर्दै उनले विपत् जोखिम न्यूनिकरणलाई ध्यानमा राखेर स्थानीय तहले पनि भवन निर्माण गर्दा भवन संहिताको पूर्ण पालना गराउनु पर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री देउवाले विगतको अनुभव र पाठबाट सिकेर विपतका बेला तत्काल दक्ष जनशक्तिको परिचालन हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिए । उनले सुरक्षित भवन निर्माण गर्ने र भूकम्पसहितका विपत् जोखिम न्यूनिकरण गर्ने कार्यमा तीन वटै तहको सरकारको बलियो सहकार्यको आवश्यक्ता पनि औंल्याए ।

कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले भूकम्प प्रतिरोधी भवन निर्माण गरेर त्यसको जोखिम न्यूनिकरणको अभियानमा जुटन् प्रदेश र स्थानीय तहको सरकारलाई आग्रह गरे । उनले त्यसका लागि संघीय सरकारले आवश्यक कानुनको व्यवस्था गरेको पनि दाबी गरे ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले भवन संहिताको पालना गरेर भवन निर्माण गरिदिए विपत् जोखिम न्यूनिकरण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताइन् ।

उनले संविधानले विपत् जोखिम न्यूनिकरणमा तीनवटै तहका सरकारले भूमिकालाई तोकि दिएपनि सोही अनुसारको काम हुन नसकेको बताइन् । मन्त्री झाँक्रीले भवन संहिताको पूर्ण पालना गरेर भूकम्प प्रतिरोधी भवन निर्माण गर्न पनि सबैलाई आग्रह गरिन् ।

प्रतिक्रिया