नेपाल प्रवेश गर्न खोज्ने इरानीको ‘मक्सद’ के ?, सीमामा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । सुनौली सीमानाको बाटो भएर नेपालमा प्रवेश गर्न खोज्ने एक इरानी नागरिक पक्राउ परेका छन् । उनको साथमा इरान र ग्रिस गरी दुई देशको पासपोर्ट फेला परेको छ । ती दुवै पासपोर्टमा अलग नाम भए पनि फोटो र ठेगाना भने एउटै छ । ग्रिसको पासपोर्टमा भएको निजको भिसा फर्जी भएको सम्बन्धित अधिकारिहरूले बताएका छन् । यसक्रममा इरानका नागरिकसँगै एक अफगानी नागरिक तथा दिल्लीका अर्का एक व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको अध्यागमन विभागले जनाएको दैनिक जागरणले समाचारमा उल्लेख गरेको छ ।
सुनौलीस्थित भारतीय अध्यागमन विभागकाअनुसार पासपोर्टमा ती इरानीको नाम हमिदियन हुसेन तथा ठेगाना ६६४ बिरिम अबदान, इरान उल्लेख छ । पासपोर्टअनुसार उनी २० डिसेम्बर २०१९ मा मुम्बई एयरपोर्ट हुँदै भारत प्रवेश गरेका हुन् । फर्जी पासपोर्ट र भिसा भएका निजको पासपोर्टमा हानिएको मुम्बई एयरपोर्टको छाप समेत नक्कली भएको बताइएको छ । ती इरानी किन नेपाल प्रवेश गर्न चाहन्थे भन्ने स्पष्ट हुन सकेको छैन ।
नेपालबाट हुने मदिरा तस्करी रोक्ने भारतीय प्रयास
झापासँग जोडिएको सीमावर्ती भारतीय जिल्ला किशनगन्जको प्रहरी प्रशासनले नेपालबाट अवैध रुपमा भारततर्फ लगिने मदिराको तस्करी रोक्न विशेष अभियान चलाउने भएको छ । यसका लागि बिहार-नेपाल तथा बिहार-बंगालको बाटोमा ६ वटा नयाँ चेकपोस्ट निर्माण गरिने बताइएको छ । नेपालबाट हुने मदिराको अवैध तस्करी रोक्न चेकपोस्टका अतिरिक्त थप सुरक्षाकर्मी पनि तैनाथ गरिनेछ ।
मदिराको तस्करी रोक्न नेपाल एवं पश्चिम बंगालको बाटो भएर बिहार प्रवेश गर्ने वाहन तथा मानिसहरुको सघन जाँच लिने योजना बिहार प्रशासनको छ । स्थानीय अधिकारीहरुका अनुसार ती चेकपोस्टको निर्माणपछि नेपाल तथा बंगालबाट बिहार ल्याइने मदिरा जफत गर्न तथा तस्करहरूलाई गिरफ्तार गर्न सहयोग पुग्नेछ ।
निर्माण गर्न लागिएको चेकपोस्टका लागि नेपालको भद्रपुरबाट आउने मार्गमा भएको गलगलिया रेल फाटक, बंगालको सिंघियाजोतसँग जोडिएको गलगलिया बस स्टप, खोडीबाडी (पश्चिम बंगाल) बाट बिहार प्रवेश गर्ने बाउरीगच्छ चोक (कुकुरबाघी), धापोडाँगी (पथरिया), एसबीआई शाखा चुरलीहाट एवं हाथीडुबा चोक (बेसरबाटी) प्रस्ताव गरिएको छ ।
स्मरण रहोस् पूर्वी नेपालसँग जोडिएको भारतको बिहार राज्यमा मदिरा प्रतिबन्ध लगाइएको छ । त्यसैले बिहारमा नेपाल तथा भारतकै अर्को राज्य बंगालबाट अवैध रुपमा मदिराको तस्करी हुने गरेको छ ।

प्रतिक्रिया