‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर लिपुलेकको आवाजलाई एकीकृत गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउने सन्दर्भमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु पर्ने बताएका छन् । परराष्ट्र सम्बन्ध एकेडेमिक फोरमले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य महरले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गरे ।
उनले दुई विषयलाई मध्यनजर गरेर् सर्वदलीय बैठक बस्नुपर्ने बताए । भारतले मिचेको नेपाली मूमि फिर्ता ल्याउन र कोरोनासँग एक भएर लड्न सर्वदलीय बैठक आवश्यक रहेको महरले बताए । उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति सबै राजनीतिक दलले आपत्ति जनाउनु भएको छ । सरकारले पनि आफ्नो धारणा राखेको छ । अब प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठक बोलाएर यो आवाजलाई एकीकृत गर्नुपर्छ । मुलुकका सबै शक्ति एक ठाउँमा उभ्याएर भारतसँग निर्णायक वार्ताका लागि सरकारले अग्रसरता लिनुपर्छ ।’
महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको महरले बताए । उनले तथ्यका साथ भारतसँग अबिलम्ब वार्ता सुरु गर्नुपर्ने बताए । उनले भने, ‘दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धी सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा गर्नुपर्छ । कुटनीतिक माध्यमबाट वार्ता गर्नुको विकल्प छैन ।’
उनले कोरोनाको तेस्रो लहर तीव्र रुपमा फैलिएकाले सर्वदलीय बैठक आवश्यक रहेको बताए । उनले भने, ‘एकजुट भएर महामारीसँग लड्नु पर्छ ।’

प्रतिक्रिया