बुधबार, वैशाख १२, २०८१

गौतमको नेतृत्वमा नासा नेपालको लुम्बिनी प्रदेश संघ गठन

नेपालखोज २०७८ माघ ४ गते १४:१८

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को संगठन विस्तार अभियान देशव्यापी रूपमा तीव्र पारिएको छ । खेलकुद विकास ऐन २०७७ को मर्मअनुसारको सांगठनिक संरचना तयार गर्नु तथा अन्तर्राष्ट्रिय महासंघ एफआईएको कार्यविधिअनुसार आफूलाई तयार गर्नु यी दुई मुख्य उद्देश्यसहित नासा सक्रिय भएको छ ।

मोटर, मोटरसाइकल स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी एन्ड टुरिजम तथा रोड सेफ्टीसम्बन्धी कार्यक्रममा संलग्न नासा नेपालको गतिविधि अब प्रदेश केन्द्रित हुनेछ । यसै सन्दर्भमा लुम्बिनी प्रदेशमा भएको वृहत भेलाले संघको प्रदेश समिति चयन गरेको छ ।

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) का वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईको उपस्थितिमा गठित लुम्बिनी प्रदेश संघको नवगठित कार्यसमिति संयोजक नीरज गौतम र सचिव किशोर भण्डारी छन् । त्यसैगरी सदस्यहरुमा प्रकाश खनाल, सञ्जीव भण्डारी, दीपक न्यौपाने, जीवन खनाल, देवु खनाल र प्रज्जनविक्रम पोखरेल छन् । सल्लाहकारहरूमा कपिल न्यौपाने, लोकहरि श्रेष्ठ तथा दिनेश पाण्डे छन् । नवगठित प्रदेश संघले यस वर्ष गर्ने तीनवटा कार्यक्रमसमेत सार्वजनिक गरिएको छ ।

गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी प्रदेशको साहसिक खेल र साहसिक पर्यटन प्रवद्र्धनका लागि यस संघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वाससमेत सहभागीले राखेका छन् ।

नवगठित प्रदेश संघका पदाधिकारी तथा सदस्यहरूलाई नेकोसका सचिव कपिल न्यौपाने तथा सुरक्षित यात्रा अभियान–नेपालका महासचिव दिनेश पाण्डेले कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका थिए ।

प्रतिक्रिया