बिहीबार, जेठ २, २०८२

नेपाली चार विद्यार्थीलाई स्पेनको विश्वविद्यालयमा छात्रवृत्ति

नेपालखोज २०७८ माघ ४ गते १५:२२

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका चार विद्यार्थीले स्पेनको एक विश्वविद्यालयबाट आकर्षक छात्रवृत्ति पाएका छन् । कलेजमा इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर इन्जिनियरिङ, आर्किटेक, सिभिल एन्ड रुरल तथा सिभिल इन्जिनियरिङ विषयको अध्ययनरत चार विद्यार्थीलाई स्पेनको युनिभर्सिडेड पोलिटेक्निका डे कार्टाजेनामा आफ्नो विषयको फाइनल सेमेस्टर पूरा गर्नेछन् ।

कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीका अनुसार इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर इन्जिनियरिङका हिमाल दाहाल, आर्टिटेक्चरकी उषा त्वायना, सिभिल एन्ड रुरल इन्जिनियरिङका विवेक कोइराला तथा सिभिल इन्जिनियरिङका सुमिल पौडेलले स्पेन गएर छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका हुन् ।

विश्वविद्यालयले उनीहरूलाई कलेजको सम्पूर्ण शुल्क मिनाहा गर्नुका साथै आउने–जाने एयर टिकट, त्यहाँ खान, बस्न र ट्याक्सी खर्चसमेत व्यवस्थापन गरेको छ । ‘युनिभर्सिडेड पोलिटेक्निका डे कार्टाजेनाले स्पेनको इरास्मस छात्रवृत्ति कार्यक्रमका लागि हाम्रो कलेजका चारजना विद्यार्थी छनोट भएका छन् । उनीहरूले आफ्नो विषयको अन्तिम समेस्टर त्यहाँ पूरा गरेर अन्तर्राष्ट्रिय डिग्रीसमेत हासिल गर्छन्,’ भाइस प्रिन्सिपल भण्डारीले बताए । छात्रवृत्ति पाएकामध्ये हिमाल दाहाल र विवेक कोइरालाले त्यहाँको ड्राइरिभर वेडको हाइड्रोलिक अध्ययन परियोजनामा पनि काम गरी अनुभव हासिल गर्ने बताइएको छ ।

नेपाल इन्जिनियरिङ कलेजले आफ्ना विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय डिग्री तथा शिक्षा हासिल गराउन विश्वका विभिन्न विश्वविद्यालय र कलेजसँग समझदारी कायम गरी शिक्षा, अनुसन्धान र खोजका कार्यहरू आदान–प्रदान गर्ने गरेको छ । भर्खरै मात्र कलेजले युरोपका आठ विश्वविद्यालयसँग समेत सोही प्रकारको समझदारी कायम गरेको छ ।

प्रतिक्रिया