बिहीबार, वैशाख १३, २०८१

दुबईबाट फर्किएका व्यक्तिलाई अपहरण गर्ने पक्राउ

नेपालखोज २०७८ माघ ४ गते १७:२४

काठमाडौं । दुबईबाट फर्किएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अपहरणमा पर्ने सिरहाका ३० वर्षीय रामेश्वर राम रहेका छन् ।

दुबईबाट २०७८ असोज ८ गते बिहान सात बजेतिर काठमाडौं आएका रामेश्वर बल्खुस्थित होटेल कञ्चनजञ्घामा बसेका थिए । रामेश्वर बसेको होटेलबाट अपरिचित व्यक्तिले रामेश्वारलाई अपहरण गरेका थिए । उनीहरुले रामेश्वरलाई काठमाडौं महानगरपालिका वडा नं. २७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा लगी बन्धक गरी राखेका थिए । रामेश्वरलाई कुटपिट, ज्यान मार्ने धम्की, सेवन गरेका चुरोटको ठुटोले पोली याताना दिँदै झोला, मोबाइल र सामान लिएर भागेका थिए ।

रामेश्वर २०७८ पुस ८ गते ६ बजेतिर होटेलबाट भाग्न सफल भए । भागेपछि उनले प्रहरीको सम्पर्कमा आएर जाहेरी दरखास्त पेश गरे । अनुसन्धान गर्दै जाँदा बन्धक बनाउने व्यक्तिहरु काठमाडौं तारकेश्वनर नगरपालिका वडा नम्बर ८ जरङखुमा बस्दै आएका थिए । ३२ वर्षका संजोग राई, ३० वर्षका रमेश अर्याल र मकवानपुरगढी गाउँपालीका वडा नं. ५ घर भएका र काठमाडौंको वसन्तनगरमा होटेल व्यबसाय गर्ने ३१ वर्षका गोकुल घिमिरेलाई पक्राउ गरिएको छ ।

संजोग राई र रमेश अर्याललाई पुस ३० गते काठमाडौं जरङखुबाट र गोकुल घिमिरेलाई माघ दुई गते काठमाडौंको वसन्तनगरबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई महानगरीय प्रहरी परिसर काठमाण्डौंबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया