शुक्रबार, वैशाख ७, २०८१

मन नै मनुष्यको एकमात्र शत्रु

एलपी भानु शर्मा २०७८ माघ ५ गते ८:५८

सबै पापहरू एउटै मूलश्रोतबाट जन्मन्छन् – खुसी हुन नसक्नु !

-आफ्नो विचारको क्षमताको दुरूपयोग सर्वाधिक हानीकारक हुन्छ । आफ्नो रोजाइ अनुरूपका विचार विकासमुखी र रोजाइभन्दा पृथक विचार विनाशकारक हुन्छन् !

-समस्त जीवन नै यज्ञमण्डप बनेपछि आफूभित्रको अग्नि स्वत: प्रकट हुन्छ ।

-तिमीले संसारलाई गम्भीरतापूर्वक लियौ भने संसारले तिमीलाई गम्भीर र बोझिल बनाई छाड्नेछ !

-विवशताका सय वर्षभन्दा स्वतन्त्रताको एक दिन बढी मूल्यवान हुन्छ ।

-विजय हासिल गर्नु पर्ने विभिन्न शत्रुहरूको सूची बनायो भने लामो हुन्छ । सम्भवत: कापीमा अट्दैन होला । छोटकरीमा यति मात्र बुझे पुग्छ – अनियन्त्रित मन नै मनुष्यको एक मात्र शत्रु हो ।

-बोलेपछि सुन्नुभन्दा सुनेपछि बोल्नु राम्रो ! बोलेपछि बुझ्नु भन्दा बुझेपछि बोल्नु राम्रो !

-जे देख्न चाहेको हो त्यसले आफ्नो मनलाई पुरै रङ्गाउन सक्नु नै अप्रकटलाई प्रकट बनाउने विज्ञान हो ।

-मनको आँखाले देखेको विषयलाई भौतिक आँखाले बिस्तारै देखाउने छ । मनको आँखाले नदेखेको विषय भौतिक जगतमा प्रकट हुने बाटो नै छैन ।

-मनुष्यको जागरणको क्षमता पनि अद्भूत छ । ध्यानमय चेतना जुन विषयप्रति जाग्यो त्यही विषय नै जीवनको सत्य बन्न पुग्छ ।

प्रतिक्रिया