शुक्रबार, चैत १६, २०८०

‘ओमिक्रोनले ज्यान लिन्छ लापरबाही नगरौं’

नेपालखोज २०७८ माघ ५ गते १३:३०

मौसम परिवर्तनको समय सँगै धेरै मानिसमा रुघाखोकीको समस्या देखिन थालेको छ । कोरोनको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण पनि बढिरहेको छ । मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो कि कोभिड संक्रमण छुट्याउन सकिएको छैन । अस्पतालमा दैनिक रूपमा रुघाखोकीका बिरामी बढिरहेका छन् । अल्का अस्पतालका चिकित्सक डा. रक्षा गौतमका अनुसार मौसम परिवर्तनले हुने रुघाखोकी र कोभिड संक्रमणमा ज्वरो आए नआएको जान्नु पर्ने हुन्छ । ज्वरो आएको छ भने सतर्क भएर बस्ने र तुरुन्त चिकित्सकको सम्पर्कमा जाने, थप लक्षण देखिन थालेमा पीसीआर गराउन उनको सल्लाह छ ।
डा. गौतमले अहिले ओमिक्रोनको संक्रमणलाई लिएर आममानिसमा लापरबाही बढेको बताइन् । ओमिक्रोनको संक्रमण ४/५ दिन रहन्छ भनेर लापरबाही गर्न नहुने उनी बताउँछिन् । प्रस्तुत छ अल्का अस्पताका चिकित्सक डा. रक्षा गौतमसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश ।

अहिले अस्पतालहरूमा मौसमी रुघाखोकीको बिमारीको चाप कस्तो छ ?
मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामी धेरै बढेका छन् । दुई सातादेखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन–चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौधौ हुने गरी बिरामी आउने गरेका छन् । मौसमी परिवर्तनमा हुने रूघाखोकी मात्रै नभएर कोभिड–१९ को बिरामी पनि बढिरहेका छन् ।

अहिले मानिसहरू एकदमै अल्मल्लिएको जस्तो देखिन्छ, एउटा मौसमी फ्लु भयो । अर्को कोभिड–१९ डेल्टा भेरियन्ट, अनि ओमिक्रोम भाइरस संक्रमण कसरी छुट्याउने, कसरी उपचार गर्ने ? सबैको उस्तैउस्तै खालको लक्षणहरू देखिन्छन् । लक्षणका आधारमा आमसर्वसाधारणले कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?
मौसम परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चिसोले हुने रुघाखोकी) हो । कमन कोल्डको बेसिक लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । मौसमी परिवर्तनले हुने लक्षणमा बिरामीहरूलाई ज्वरो आउँदैन । सामान्य जिउ दुख्ने, रुघाखोकी १÷२ दिनमा आफैं ठीक हुने र घरको एउटा सदस्यलाई भए प्रायः सबै सदस्यलाई लक्षण ट्रान्सफर भइराखेको हुन्छ । फ्लु भनेको जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो । हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो । इन्फ्लुयन्जा र कोभिड फ्लुमा हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नुप¥यो । फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा अलिकति गाह्रो छ । तर हामीले बिरामीको अवस्था हेर्दा फ्लु भएकाहरूलाई, इन्फ्लुएन्जा भएकाहरूलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, जिउ दुख्ने, झाडापखाला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वाद पनि गएको हामीले यसपालि पाएका छौँ । अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरूमा प्लस, माइनस, तथा घाँटी दुख्ने लक्षणहरू अलि बढी हामीले ओपीडीमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ, तर हामीले हेर्दा यो पिक सिजन भइराखेको छ । कोभिडको, हामीले बिरामीहरूलाई हेर्दा पीसीआर गर्दा पोजेटिभ आइराखेको छ । तर अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघामर्की लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्युएन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिँदैन । पीसीआर गर्नैपर्छ ।

मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?
मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधिहरू प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरू मन तातो पानी खाने, पानीको मात्रा शरीरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिँड्ने त्यो मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ । खासै डाक्टरकोमा गइहाल्नु पर्दैन । कमन कोल्ड हुँदा ओपीडीमा धाउनु पर्दैन । जहाँ ज्वरो हुँदैन बिरामीलाई । जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लुमा जान्छ । फ्लु भन्नेबित्तिकै मौसम परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो । फ्लु भनेको भाइरसले गर्दा हुने हो । फ्लुमा ज्वरो पनि आउँछ । दुई, तीन दिन ज्वरो आउँछ । प्रायः हामीले अवस्था हेर्दा बिरामीलाई तीन दिनसम्म ज्वरो आएको । तीन दिनपछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ । सामान्य पारासिटामोल बिरामीहरूले खाइराख्नु भएको छ । कतिपयलाई तीन दिनभन्दा बढी ज्वरो आइराछ । ज्वरो १०२, १०३ भन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दा पनि ज्वरो घटेको छैन । जिउ दुखिराखेको छ, छाति भारी भइराखेको छ । खोकी बढिराखेको छ । पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ । बिरामीले खाना पटक्कै खानुभएको छैन । एकदमै कमजोर हुनुभएको छ भने उहाँलाई तुरुन्तै ओपीडी ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।

यस प्रकारको संक्रमणमा सामान्यतः सर्वसाधारणबाट हुने लापरबाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?
दुईथरी पेसेन्टहरू (बिरामी) हुनुहुन्छ । एकथरी रुघा लाग्नेबित्तिकै आउनुहुन्छ जचाउँन । त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ । रेस्ट गर्नु भन्छौँ । रेस्टले नै निको हुन्छ आधीभन्दा बढी यो । फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस् । रेस्ट मात्रै गरेपनि निको भइराखेको छ कत्तिलाई । कतिपय बिरामी धेरै गाह्रो भइसक्दा पनि आउनुभएको छैन उहाँहरू अस्पताल । श्वास–प्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानुभएको छैन । दीर्घरोग लागेका बिरामीहरू हुनुहुन्छ । घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिन्डर छ घरमा भनेर नबस्नु । एकचोटि आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातिको एक्सरे गर्नुहुन्छ । निमोनियाँ भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनियाँ भएको बिरामीहरूलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।

संक्रमणमा हाम्रो अस्पतालहरूमा कस्तो किसिमको स्वास्थ्य उपचारको व्यवस्था छ ?
कोभिड आएदेखि हामीले पोजेटिभ बिरामीहरूलाई राख्ने एउटा अलग व्यवस्था गरेका छौँ । नेगेटिभ बिरामीलाई राख्ने अलग व्यवस्था छ । लक्षणहरू सबै मिल्छ कोभिडसँग तर आरटी पिसिआर गर्दा नेगेटिभ आयो भने उहाँहरूलाई अलग राख्ने व्यवस्था छ । सबै पोजेटिभ बिरामीहरूलाई भर्ना गर्ने हामीले गरेका छैनौँ । यदि माइल्ड छ सामान्य लक्षण छ भने काउन्सिलिङ गरेर, घरमा नै उपचार गरेर, डाक्टरले औषधिहरू दिएर घर पठाइराखेका छौँ । अक्सिजन पर्याप्त मात्रामा शरिरमा पुगेको छैन भन्नेजस्तो हामीलाई डाउट (शंका) लाग्ने बित्तिकै हामीले बिरामीलाई भर्ना गरेर दुई, चार दिन उहाँहरूलाई क्रिटिकल केयर तथा छाति विशेषज्ञ र फिजिसियन हामी तिन जनाको टिम मिलेर क्लोज अब्जरभेसनमा राखेर उपचार गरिराखेका छौँ । निको भएर गइराख्नु भएको छ । पहिला पहिलाको जस्तो महामारी जुन थियो त्यस्तो अवस्था आएको छैन । त्यही भएर कन्ट्रोल नै गर्न नसकिने, इर्मजेन्सीमा बेड नै नभएको । अक्सिजन नै नपुगेको यसपालि हामीले आजको दिनसम्म भेटेनौँ । त्यतिबेलाको भन्दा अहिलेको व्यवस्थापन त्यतिबेलाको जस्तो बेग आउँछ भनेर हामीले जुन तयारी ग¥यौँ मानसिक रुपमा, अस्पतालको व्यवस्थापनमा जुन हिसाबले तयारी भएर बस्यौ त्यो कारणले गर्दा यसपालि व्यवस्थापनमा त्यत्ति असहजता छैन ।

अन्त्यमा, विशेषज्ञका रूपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?
सुझाव म के दिन चाहान्छु भने पहिले सुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनै पनि भेरियन्ट होस् हामीले पिसिआर गरेर छुट्याउन सक्दैनौँ । यो जनमानसमा गलत धारणा कि डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने छ । हामीले पेसेन्टको लक्षण हेरेर तपाईहरूलाई भन्न सक्दैनौँ । अर्को एउटा के धारणा गलत छ भने त्यो सिटी भ्यालु देखाउन आउनुहुन्छ । पिसिआरको रिपोर्टमा जुन सिटी भ्यालु लेखेको हुन्छ, मेरो त मेरो कम छ उहाँको बढी छ मलाइ अलि गाह्रो हुने हो कि, हामीलाई त्यसको आधारमा बिरामीलाई गाह्रो हुन्छ, बिरामीलाई आइसियूमा भर्ना गरिन्छ कि बिरामीलाई माइल्ड हुन्छ भनेर छुट्याउन सक्ने त्यो क्यापेबिलिटी छैन । त्यसमा कन्फ्युजनमा नपर्नुस् । पिसिआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिदैन । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त । त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो । रोगीहरूको प्याटर्न त्यही हो । कतिबेला निको हुन्छ, कतिबेला देखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ आउनुहोला ओपिडिमा । अनि अर्को कुरा, हात धुने । स्यानिटाइजरहरू लगाउने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामको लागि बाहिर नहिड्ने, यो कुरा हामीले भनिरहेका छौँ बारम्बार मानिसहरूलाई बानि बसोस् भनेर । ९० प्रतिशत बिरामीहरूको अहिले माइल्ड छ । पहिला पहिलाको वेभजस्तो आइसियु, बेडको अभाव, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा बेपर्वाह हुनु भएन । ओमिक्रोन हो केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा । ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामीहरू नराम्रो अवस्थामा गएको पनि हामीले देख्या छौँ । त्यही भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भीडभाड नगर्ने ।

प्रतिक्रिया