बिहीबार, वैशाख १३, २०८१

सिनोभ्याकको भ्याक्सिन कोभिडका बिरामीमा प्रभावशाली !

नेपालखोज २०७८ असोज २९ गते ८:५४

काठमाडौं । मलेसियामा गरिएको एक बृहत् अनुसन्धानले चिनियाँ कम्पनी सिनोभ्याकद्वारा निर्मित कोभिड-१९ विरुद्धको भ्याक्सिन कोरोनाका सिकिस्त बिरामीहरुमा पनि निकै प्रभावशाली रहेको जनाएको छ ।

यस्तै राम्रो सुरक्षा परिणाम फाइजर-बायोएनटेक र एस्ट्राजेनेकाको भ्याक्सिनको पनि देखिएको थियो । यद्यपि यो ताजा तथ्यांकले चिनियाँ कम्पनीको भ्याक्सिनको आलोचना गर्नेहरुको मुखमा बुझो लगाइदिएको छ । अस्ट्रेलियाले त यसै साता मात्र चिनियाँ खोप लगाउनेलाई भिसा नै नदिने नीति सार्वजनिक गरेको थियो । पश्चिमा प्रचार-प्रसारमा चिनियाँ भ्याक्सिनलाई सधैं सन्देहको घेरामा राखिँदै आएको छ ।

सिनोभ्याकको भ्याक्सिन निकै प्रभावशाली
मलेसिया सरकारका तर्फबाट गरिएको अनुसन्धानमा ७२ लाख बिरामीको तथ्यांक केलाइएको थियो, जसले सिनोभ्याकको भ्याक्सिन लगाएका थिए । मलेसियन स्वास्थ्य अधिकारीहरुका अनुसार ती ७२ लाख मानिसमध्ये केवल ०.०११ प्रतिशत मानिस मात्र कोभिड संक्रमित भई आईसीयूसम्म पुगे ।

यसैगरी ६५ लाख मानिसमा फाइजर-बायोएनटेक र सात लाख ४४ हजार मानिसमा एस्ट्राजेनेकाको भ्याक्सिनको असर जाँच गरिएको थियो ।

अनुसन्धानमा फाइजर-बायोएनटेकको खोप लगाउने ०.००२ प्रतिशत मानिस कोरोनाबाट संक्रमित भई आईसीयूमा भर्ना हुने स्थितिमा पुगेको देखियो भने एस्ट्राजेनेकाको भ्याक्सिन लगाउने ०.००१ प्रतिशत मात्र आईसीयूसम्म पुगेको पाइयो । यो अनुसन्धान मलेसियाको इन्स्टिच्युट फर क्लिनिकल रिसर्चले नेसनल कोभिड-१९ टास्क फोर्ससँग मिलेर गरेको थियो ।

यो अनुसन्धान १ अप्रिलमा सुरु भएर पाँच महिना चलेको बताइएको छ । अनुसन्धानकर्ताहरुका अनुसार कोरोनाविरुद्धको भ्याक्सिन लगाउनेहरुमा आईसीयूमा भर्ती हुने जोखिम ८३ प्रतिशत तथा मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम भएको पाइयो ।

अनुसन्धानकर्ताहरु भन्छन्, ‘अनुसन्धानमा संलग्न यी तीनवटा कम्पनीका खोप लगाउनेहरुमा संक्रमण भइहाले पनि आईसीयूमा भर्ना हुनेहरु निकै कम रहे । खोपका बाबजुद कोरोना संक्रमित भएर आईसीयूमा पुग्ने धेरैको उमेर ६० कटेको थियो ।

चिनियाँ कम्पनी सिनोभ्याकको भ्याक्सिन प्रयोग चीनसहित इन्डोनेसिया, थाइल्यान्ड, पाकिस्तान, ब्राजिललगायत अरु कैयन् मुलुकमा ठूलो परिमाणमा भइरहेको छ । सिनोभ्याकले सेप्टेम्बरको सुरुसम्म एक अर्ब ८० करोड डोज भ्याक्सिन देश-विदेशमा पठाइसकेको बताइएको छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया