शुक्रबार, चैत १६, २०८०

चुनाव नगरे एमाले सडक संघर्षमा जान बाध्य हुन्छ : आनन्द पोखरेल

नेपालखोज २०७८ माघ ५ गते १६:२५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्नेगरि तयारी गर्न आग्रह गरेका छन् । उनले आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन ? भनेर बहस र छलफल हुनु नै दुःखद् भएको बताए ।

पोखरेलले संविधान र कानूनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई सचेत गराए । उनले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन, अहिले विभिन्न शंका तथा उपशंका अनि आशंका जन्मिएको छ, यो आशंका मेटाउनेगरि पाँच दलीय गठबन्धनले जवाफ दिनुपर्छ । खासगरी सरकारको नेतृत्व गरेकोले शेरबहादुर देउवाले जवाफ दिनुपर्छ । म भन्न चाहन्छु तपाई किन निर्वाचनको लागि ढिलासुस्ती गर्दै हुनुन्छ ?’

उनले प्रधानमन्त्री देउवा चुनावको विपक्षमा नरहेको पनि जिकिर गरे । उनले भने, ‘शेरबहादुर देउवा चुनावको विपक्षमा हुनुहुन्न । परमादेशको कारण सरकार बनेको छ । अरुको बैशाखी टेकेर सरकार बनेको कारणले होला, उहाँलाई समस्या छ ।’

उनले आफ्नो पार्टी चुनावको पक्षमा रहेकाले तत्काल निर्वाचन गराउनेगरि वातावरण बनाउनको लागि सरकारलाई दबाब दिने पनि बताए । निर्वाचन आयोगले चुनावको मिति पनि तय गरिसकेको उनले बताए । त्यही मितिमा नै चुनाव गराउन सरकारसमक्ष उनको आग्रह छ । संघीयता कार्यान्वयनको लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने र समयमै निर्वाचन हुनु झनै अपरिहार्य भएको पोख्रेलको भनाई छ । उनले भने, ‘चुनाव अपरिहार्य छ, त्यसैले निर्वाचन तत्कालै गर्नुपर्छ । चुनावमा कसले जित्छ भनेर आँकलन नगरौं । लोकतन्त्रलाई वयस्क बनाउनको लागि चुनाव अवाश्यक छ । निर्वाचन हुँदैन कि भन्ने प्रश्न नउठ्नेगरि काम गर्नुपर्छ ।’

उनले कांग्रेसलगायत पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताले अझैपनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने टिप्पणी गरे । उनले एमाले राष्ट्रियताको लागि अनि संविधान कार्यान्वयनको लागि लडेको उल्लेख गरे । उनले एमाले जनताले रुचाएको लोकप्रिय पार्टी भएको पनि बताए ।

सरकारले चुनाव नगर्ने छाँटकाँट देखाएको भन्दै चुनाव नगरे आफूहरु सडक संघर्षमा जान बाध्य हुने पनि उनले चेतावनी दिए । उनले सरकारले प्रक्रियागत ढंगले चुनाव गरोस भन्ने चाहना व्यक्त गरे । उनले आफूहरु निर्वाचनको पक्षमा रहेको भन्दै सरकारले बैशाखमै संघ र प्रदेशको निर्वाचन गर्न चाहेको हो भनेपनि त्यसको लागि आफूहरु तयार रहेको बताए । उनले भने, ‘किन यो सत्तापक्ष निर्वाचनबाट भाग्छ ? निर्वाचनसँगको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु । सडक संघर्षबाट निर्वाचनको लागि बाध्यता पार्न नपरोस ।’

प्रतिक्रिया