बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको छ ।
गत पुस ३० गते राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही अघि बढाउने विषयमा आज साँझ छलफल भएको हो ।
छलफलका क्रममा शिक्षामन्त्री पौडेलले शिक्षा मन्त्रालय विद्यार्थीका पक्षमा रहेको भन्दै आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृह मन्त्रालयलाई आवश्यक सहजीकरण गरिदिन आग्रह गरे।
गत पुस ३० गते शिक्षामन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने, छात्राबाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्थाले तथा अभिभावक एवं विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने र यसको सहजीकरण विश्वविद्यालयले गर्ने र ऐन कार्यान्वयनका सन्दर्भमा देखिएका असहजता निरुपणका लागि सम्बन्धित निकाय, विज्ञ तथा अन्य सरोकारका पक्षसँग छलफल गरी संशोधनका लागि राय परामर्श उपलब्ध गराउनेलगायतका विषयमा निर्णय भएको थियो ।
छलफलमा गृहमन्त्री खाँडले मन्त्रालय विद्यार्थीका पक्षमा रहेको भन्दै तत्काल काठमाडौं, भक्तपुर र मोरङ जिल्लाका सिडिओमार्फत त्यहाँको यथार्थ स्थिति बुझेर अघि बढ्ने प्रतिक्रिया दिए।

प्रतिक्रिया