अनिवार्य मास्क प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं । उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह–चालक तथा यात्रुबर्गलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनमा सूचनामुलक स्टिकर टाँस गरेको हो ।

काठमाडौं मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेशराज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थितिमा ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँस गरिएको हो । कार्यक्रममा एसएसपी जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपायहरुलाई पूर्ण पालना गर्न अनुरोध गरे । उनले ’ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल अभिप्रायका साथ सुुरु गरिएको सचेतना अभियानले संक्रमण नियन्त्रणमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए–नभएको अनुगमन गर्दै मास्क नलगाएको पाइए सम्झाई–बुझाइ गरि मास्क समेत बितरण गरेको छ । स्व–स्फुर्त रुपमा मास्कको प्रयोग गर्ने चालक सह–चालक तथा यात्रुलाई सचेतना अभिबृद्धि गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ भन्दै पन्ध्र हजार स्टिकर टाँस गरिएको हो । अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकालाई लगाउन प्रेरित समेत गर्ने महाशाखाको बुझाई छ । ट्राफिक प्रहरीले अनिवार्य मास्कको प्रयोग गर्न अनुगमन गर्ने, सचेतना जगाउने र मास्क वितरण समेत गर्दै आएको छ ।

प्रतिक्रिया