सोमबार, वैशाख १७, २०८१

कोभिड समाप्त हुने छाँट छैन !

नेपालखोज २०७८ माघ ८ गते १५:४३

काठमाडौं । विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै भनेको छ- हामी कोरोना महामारी समाप्त हुने छेउछाउमा पनि पुगेका छैनौं । संगठनका प्रमुख तेद्रोस अधनोम गेब्रयेसुस भन्छन्- ओमिक्रोन जस्तै अरु भेरियन्टहरु आइरहनेछन् । एक प्रेस कन्फ्रेसमा गेब्रयेसुसले भने, ‘हामी यसलाई जित्ने छेउछाउसम्म पनि पुगेका छैनौं । जसरी ओमिक्रोन संसारभर फैलिएको छ, सम्भब छ कि अब नयाँ भेरियन्ट देखापर्नेछ । यसका लागि ट्रयाकिङ र आकलन महत्त्वपूर्ण हुनेछ ।’

२०२१ को आखिरी महिनामा दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोनका कारण अहिले पूरा संसार आक्रान्त छ । संसारभर एकपटक फेरि कोभिड-१९ का बिरामीको संख्या चरममा पुगिरहेको छ । विश्व स्वास्थ्य संगठनका पदाधिकारिहरुका अनुसार ओमिक्र‍ोन तुलनात्मक रुपमा कम खतरनाक भए पनि यसका कारण अस्पताल भर्ती हुनुपर्ने तथा मृत्यु हुने सिलसिला रोकिएको छैन ।

डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रायनका अनुसार, ‘यसलाई हल्का भाइरस भनेर वा कम खतरनाक मानेर लापरबाही गरे त्यसको स्वास्थ्य व्यवस्थामा नराम्रो असर हुन सक्छ । यदि यो भाइरस नियन्त्रणबाहिर गए स्थिति भयावह हुनेछ । त्यसैले हाम्रो सल्लाह छ रोगका विरुद्ध कडासँग नियम पालन गर्ने कुरा जारिरहनुपर्छ ।’

संसारका केही सरकारले के संकेत दिएका छन् भने अब कोभिडलाई स्थानीय बिरामीसरह मानिनेछ । यद्यपि विश्व स्वास्थ्य संगठन भन्छ- ओमिक्रोन भाइरसले भ्याक्सिन लिइसकेकाहरुलाई पनि संक्रमित गरेको छ र यो नै चिन्ताको कुरा हो ।
-रोयटर्स, एएफपी तथा डीपीए

प्रतिक्रिया