सीमावर्ती क्षेत्रमा प्रहरी सक्रियता बढाइयो

काठमाडौं । नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ । पछिल्लो छ महिनामा बाँके प्रहरीले भन्सार चोरी पैठारी रोकथाममा सक्रियता देखाइ चार करोड ३६ लाख २६ हजार बढी राजस्व संकलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरीले यो अवधिमा भन्सार चोरी पैठारीमा २७, भारतबाट अवैधरुपमा ल्याइएका बोइलर कुखुरा, चल्ला, मासु र माछामा सात जनालाई पक्राउ गरी कार्वाही गरेको छ । भन्सार चोरी पैठारीबाहेक अन्य अवैध कारोवार रोकथाम गर्न पनि प्रहरीले सक्रियता बढाउँदै गएको छ ।
प्रहरीले सुन तस्करीमा दुई जना, जुवातासमा ६१ जना, ट्राफिक नियम उल्लंघनमा २० हजार ५ सय ३५ सवारीसाधन र सवारीसाधन चोरीमा १७ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन् ।
बाँके प्रहरीले पछिल्लो छ महिनामा भन्सार चोरी पैठारीबाट चार करोड ३६ लाख २६ हजार ६०८, सुन तस्कर कारबाहीबाट तीन करोड १३ लाख ९७ हजार ६७५, ट्राफिक कारबाहीबाट एक करोड १२ लाख ३४ हजार ५०० र नदीजन्य पदार्थ उत्खननबाट तीन लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।
यस्तै, जुवातास कारबाहीबाट ९ लाख ५१ हजार ६ सय १०, काठ तस्कर कारबाहीबाट छ लाख ५३ हजार ९ सय, क्वारेन्टिन नगराइएका कुखुरा तथा माछा मासुबाट २० लाख र फरार अभियुक्तबाट असुल जरिवाना ३७ लाख ९९ हजार ५ सय १४ गरी ९ करोड ३९ लाख ९३ हजार ८०७ असुली भएको न्यौपानको भनाइ छ । प्रहरीले गत वर्ष यो अवधिमा रु दुई करोड ७५ लाख ३४ हजार ७३८ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया