मंगलबार, वैशाख २५, २०८१

प्रधानमन्त्री देउवाले नै सरकार असफल भएको घोषणा गरे : योगेश भट्टराई

नेपालखोज २०७८ माघ ८ गते १४:१०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सरकार असफल भएको घोषणा गरेको आरोप लगाएका छन् । उनले सामाजिक सन्जालमार्फत १२ बुँदामा प्रधानमन्त्री देउवाले गरेको राष्ट्रको नाममा सम्बोधनको व्याख्या गरे ।

उनले प्रधानमन्त्रीको वक्तव्यले सरकार पूर्ण रुपमा असफल भएको कुरा स्वयम् घोषणा गरेको बताए । प्रधानमन्त्री देउवाले शुक्रबार देशवासीको नाममा सम्बोधन गरेका थिए । उनले सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भएको प्रधानमन्त्रीको सम्बोधनबाट थाहा पाएको बताए । उनले कोरोनाको तेस्रो लहरमा सरकारबाट आएको वक्तव्य निराशजनक रहेको बताए ।

प्रधानमन्त्री देउवाको सम्बोधनप्रति योगेशको टिप्पणी १२ बुँदामा

१. माघ ७ गतेबाट सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय भनि आदेश जारी गर्ने सरकारले अहिले पनि ६०% नागरिकलाई खोप दिन सकेको छैन् । खोप–खोप र खोप भन्दै सत्तारोहण भएका प्रधानमन्त्रीले पौषसम्म दुई तिहाइलाई र चैत्र सम्ममा सबैलाई खोप दिन उहाँकै पूर्व घोषणा हावाखान पुगेको छ र आजको वक्तव्यमा त्यसको विश्वाशिलो आधार केही देखिँदैन। बुस्टर डोज त झन कहिले सबैले पाउने हुन् अत्तोपत्तो छैन् ।

२. अहिले सम्म १८ वर्ष मुनिका बालबालिका मध्ये अधिकांश खोप पाएर स्कूल कलेज सुचारु हुनुपर्नेमा त्यो सुरसार छैन् । त्यस उमेर समूहका लागि खोपको प्रबन्ध गर्ने कुनै कार्ययोजना छैन ।

३. प्रत्येक दिन ५ लाख व्यक्तिलाई खोप लगाउने घोषणा गरेको सरकारले मुस्किलले २ लाख पनि पूरा गर्न सकेको छैन् । खोप केन्द्रमा देखिएको भिडभाडले खोप केन्द्र संक्रमणको थलो बनी रहेका छन । खोप केन्द्रको बिस्तार गर्ने, नागरिकहरुलाई सहज र सरल ढंगले खोपप्राप्त गर्ने वातावारण बनाउने र बृद्धबृद्धा, गर्भवती महिला, बालबालिका, अपाङ्ग, र अशक्तहरुलाई घर–घरमै खोप सेवा पुर्याउने कार्ययोजना प्रधानमन्त्रीको वक्तव्यमा छैन ।

४. खोपको गुणस्तरियता, भण्डारण व्यवस्था, आपूर्ति व्यवस्थाका बारेमा विज्ञहरुबाट पट्क पट्क प्रश्न उठदै आएको छ त्यसको चित्तबुझ्दो जवाफ र योजना सुन्न पाईएन्न । गायव २४ लाख डोजको खोजिनिती गर्ने र गल्ती गर्नलाई कार्वाही गर्ने कुरा त झन छदैछन् । थप २० लाख डोज खोपको अभिलेख नै छैन ।

५. तेस्रो लहरमा आजका दिनमा करिब एकहजार स्वास्थ्यकर्मीहरु स्वयम् सक्रमित भएका छन्। यो संख्या प्रत्येक दिन थपिंँदै जानेछ । उनीहरुलाई उपचार गरी काममा फर्काउन, थप स्वास्थ्यकर्मीलाई संक्रमित हुनबाट जोगाउन, उनीहरुले पाउनु पर्ने जोखिम भत्ता उपलब्ध गराउन, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र प्रयाप्त मात्रामा जनशक्तिको व्यवस्थामा कुनै योजना र प्रतिवद्धता प्रधानमन्त्रीको वक्तव्यमा देखिएन्

६. स्वास्थ्य जनशक्तिको थप प्रवन्ध र स्वास्थ्य पुर्वाधारमा कतै पनि प्रतिवद्धता देखिएन् । उल्टै अधिल्लो सरकारले बिनियोजन गरेको बजेट कटौती गरिएको छ ।

७. लाखौँ नागरिकले पाउनु पर्ने कोरोना बीमा बापतको रकम विमितहरुले कहिले पाउँछनरु एक शब्द पनि बोलिएको छैन् ।

८. ट्रेसिङ, टेस्टिङ्, आईसोलेसन, होल्डीङ, ट्रिट्मेन्ट जस्ता अनिवार्य दायित्वबाट सरकार भागिसकेको छ ।

९. कोरोनाबाट उत्पन्न नकारात्मक परिस्थितिबाट मुलुकको अर्थतन्त्रलाई कसरी जोगाउने र बैकल्पिक रोजगारीका माध्यमवाट तल्लो वर्गलाई रोजी–रोटीबाट बन्चीत हुन नदिने भन्ने बारेमा कुनै भरपर्दो योजना नै छैन् ।

१०. आजसम्म पिसिआर टेस्ट र उपचारमा मात्र नागरिकको तर्फबाट अरर्वौ अरब पैसा खर्च भैसकेको छ । अब सर्वसाधारणको खल्ती रित्तो भैसक्यो । संक्रमण र महामारीमा सरकारले खर्चको दायित्व वोक्नु पर्छ तर प्रधानमन्त्रीलेले कोरोनाको टेष्ट र उपचार निशुल्क गर्नु पर्ने संवैधानिक दायित्वलाई पुरै वेवास्था गर्नु भएकोछ ।

११. कोरोनाको बारेमा विज्ञहरुको राय अनुसार चल्ने, अध्ययन अनुसन्धान गर्ने , राजनीतिक समन्वय र परिचालन गर्ने, तिन तहका सरकारबिचमा कार्यमुलक सम्बन्ध स्थिापीत गर्ने र आम जनतालाई विश्वासमा लिने सवालमा सरकार पुरै असफल साबित भएको छ ।

१२. प्रधानमन्त्रीको वक्तव्यले थप लाजको पसारो भएको छ । यो बक्तब्य सरकार पूर्णत असफल भएको स्वयमको घोषण हो ।

प्रतिक्रिया