बिहीबार, चैत १५, २०८०

‘अर्थपूर्ण सहभागिताका लागि एकताबद्ध हुनुपर्छ’

नेपालखोज २०८० जेठ २६ गते २२:२२

काठमाडौं । राष्ट्रियसभा सदस्य कमला पन्तले महिलाको अर्थपूर्ण सहभागिताका लागि एकताबद्ध हुन जरुरी रहेको आवश्यकता औँल्याएकी छिन् ।

आज नेपाल महिला संस्थाकाे आयोजनामा भएकाे ‘युवा र महिलाको लागि नागरिक र राजनीतिक स्थान सक्षम बनाउन अन्तरपुस्ता नीति संवाद’ कार्यक्रममा उनले भनिन्, ‘आजको उपलब्धि कसैको दया, मायाले आएको नभई महिलाका सङ्घर्ष, त्याग, आन्दोलनले पाएको हो । अबको नेतृत्व राजनीतिक पहुँचबाट नभई युवाका जोस जाँगरले प्रतिस्पर्धा गरी महिलाको अर्थपूर्ण सहभागिता बनाउन आवश्यक छ ।’

राष्ट्रियसभा सदस्य पन्तले सात सय ५३ पालिकामा महिला विकास कार्यलय हुनुपर्नेमा जोड दिइन् । ‘वडाअध्यक्षले महिलाका मुद्दामा सिफारिस गर्ने अधिकार महिला विकास कार्यलयलाई दिनुपर्छ । सचेतना बढ्दै गए पनि महिला हिंसा नघट्नुको कारण वडा अध्यक्षले महिलाको पीडा बुझ्न नसक्नु पनि हो’, उनले भनिन् । कार्यक्रममा पूर्वमन्त्री जयपूरी घर्तीले महिलाका लागि तयार गरिएका कानुनी व्यवस्था कार्यान्वयनमा चुनौती रहेको बताइन्।

‘केही बाध्यकारी व्यवस्था बाहेक कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्न चुनौती छ । यस्ता सामाजिक मुद्दाका विषयमा सबै राजनीतिक दल स्वार्थभन्दा माथि रहेर एकजुट हुनुपर्छ’, उनले भनिन् । अबको पुस्ताले इच्छाशक्ति र आत्मवल लिएर महिला नेतृत्व स्थापित गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ । त्यस्तै नेपाल समाजवादी पार्टीका उपाध्यक्ष दुर्गा सोबले पार्टीले महिला नेतृत्व स्वीकार गर्न नसकेको टिप्पणी गरिन्।

‘पार्टी भित्रनै महिला पछाडि परेका छन् । एउटै पदमा महिला हुँदा र पुरुष हुँदा हेर्ने दृष्टिकोणले फरक हुन्छ’, उनले भनिन् । महिला नेतृत्व स्थापित गर्नमा समस्या छ भनेर पछाडि नहटी उक्त समस्यालाई सामना गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा संस्थाका अध्यक्ष भावना भट्टले तीन पुस्ताका भोगाइ र सिकाई अन्तरपुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेकाले कार्यक्रम आयोजना गरिएको बताइन् । ‘महिला आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न नसकिएको अवस्थामा उनीहरुको सिकाइ, सङ्र्घषलाई लिपिबद्ध गरी अन्तरपुस्तामा हस्तान्तरण गर्नुपर्छ’, उनले भनिन् ।

नागरिक समाजकी नेतृ शर्मिला कार्कीले महिलाको सहभागिता बढ्दै गए पनि गुणस्तरीय सहभागितामा पहल गर्नुपर्ने बताइन्। महिलाको नेतृत्वप्रति विश्वास नराखे पनि निरन्तर आफ्नो अधिकारमा महिला सजग हुनुपर्नेमा उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न संस्थाबाट आवद्ध व्यक्तिले महिलाका सङ्घर्ष, आन्दोलनबारे जानकारी गराउनुपर्ने, जल्दोबल्दो मुद्दामा तत्काल आवाज उठाउनुपर्ने, समयसापेक्ष विभिन्न सञ्जालमा आवद्ध भई आफूले गरेका कामबारे प्रस्ट पार्नुपर्ने, व्यवस्था कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेलगायतका विषय उठाएका थिए ।

प्रतिक्रिया