सोमबार, वैशाख २४, २०८१

महासचिव पोखरेलले भने– स्थानीय तह निर्वाचन समयमा नहुँदा यस्ता १० असर पर्छ

नेपालखोज २०७८ माघ ८ गते १७:१६

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले समयमै निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले आज सामाजिक सन्जालमार्फत स्थानीय तहको निर्वाचनबारे सत्ता गठबन्धनमा कुरा अलमल परिरहेका बेलामा निर्वाचन समयमै गर्नुपर्ने बताए ।

सत्ता गठबन्धनले आगामी मंसिरमा एकैपटक तीनै तहको निर्वाचन गर्नेबारे छलफल चलाइरहेको बेलामा महासचिव पोखरेलले वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन् । वैशाखमै स्थानीय तहको निर्वाचन नहुँदा त्यसबाट पर्ने विभिन्न असरलाई उनले बुँदागत रूपमा उल्लेख गरेका छन् ।

महासचिव पोखरेलको नजरमा समयमा निर्वाचन नहुँदा यस्ता असर देखापर्छ

१. असार १० मा स्थानिय तहको बजेट प्रस्तुत गर्न र पारित गर्न नसकिने ।

२. आर्थिक वर्ष सकिएपछि गाउँसभा र नगरसभाको अनुमति विना संचित कोषबाट रकम खर्च गर्न नसकिने ।

३. स्थानीय संचितकोषबाट सुविधा पाउने शिक्षक कर्मचारीको तलब भत्ता रोकिने ।

४. बहुवर्षीय क्रमागत विकास आयोजनाका काम रोकिन जाने ।

५. संविधानत: ६–६ महिनामा बस्ने गाउँ तथा नगरसभा बस्न नसक्ने ।

६. कुनै पनि नयाँ विकास निर्माण र सेवा प्रवाहका काम गर्न नपाइने ।

७. स्थानीय तहबाट हुने सेवा प्रवाहमा जहाँ गाउँ तथा नगरसभा, वडाध्यक्ष र कार्यपालिका प्रमुखको निर्णयबाट हुने सबै काम अवरुद्ध हुने ।

८. स्थानिय निकायको निर्वाचन नहुँदा जिल्ला समन्वय समिति, राष्ट्रपति र उपराष्ट्रपतिका साथै राष्ट्रिय सभाको निर्वाचन समेत प्रभावित हुने ।

९. नेपाली विशेषताको संघीयताको मुल मर्ममाथि प्रहार हुने । पुन: केन्द्रीकृत अभ्यास तर्फ मुलुक फर्कने ।

१०. सार्वभौम संसदले बनाएको कानुनको उल्लंघन हुने ।

प्रतिक्रिया