सोमबार, वैशाख २४, २०८१

‘स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउनुपर्छ भन्ने पक्षमा म छैन’

नेपालखोज २०७८ माघ ८ गते १७:३७

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् । आज काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पारे ।

उनले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए । उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दावी समेत गरे । पूर्व–उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘मैले सुरुदेखि नै भन्दै आएको छु । हामीले जाने भनेको त संविधानको भावना र मर्म बमोजिम नै सबै कामहरु हुनु पर्छ । अहिलेको यो डिबेट आईराखेको छ नि त । स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो । कार्यअवधि भन्दा स्थानीय निर्वाचन ऐनले २ महिना अगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ ।’

उनले संविधानको मर्म र भावना अनुसार सबै पार्टी अघि बढ्नुपर्ने बताए । उनले भने, ‘संविधानले के भन्छ भन्दाखेरी कार्यकाल पाँच वर्षका हो । तर, कार्यकाल सकिएको ६ महिना भित्र नै गर्नुपर्छ भन्ने संविधानको कुरा छ । तर अहिले आएर के हो भन्दाखेरी यो संविधानको समग्र मर्मलाई काम गर्नुपर्छ । स्थानीय निकायलाई हामीले समयमै गर्दाखेरी संघीय निर्वाचन पनि टाईम आएपछि गर्दा राम्रो हुन्छ । संविधानको भावना र मर्म अनुसार नै हुनुपर्छ । त्यसमा पनि के भन्दाखेरी स्थानीय निकायचाँही खाली राख्नु हुन्न भन्ने मेरो परसनल ओपिनियन हो । र, त्यही अनुसार हुनुपर्छ भन्ने मेरो भनाई हो ।’

प्रतिक्रिया