शुक्रबार, वैशाख ७, २०८१

फलफूल र तरकारीलाई यसरी बनाउनुहोस् विषरहित

डा. हेमराज कोइराला २०७८ माघ ९ गते ९:२२

फलफूल तथा तरकारीहरुलाई लेउ, झ्याउ, ढुसी, कीरा, जंगली घाँस र किटाणुहरुको संक्रमणबाट बचाउन यसमा कीटनाशक औषधि छर्केने गरिन्छ । यी विषादी शरीरभित्र गई मुटु, कलेजो, फोक्सो, मिर्गौला, आन्द्राभुँडीजस्ता कोमल अंगहरू ड्यामेज गर्ने कारक तत्त्व बन्दछन् । यसरी हालिएका विषादीहरुलाई ठीकसँग निस्तेज गर्न नसक्दा ज्यान सम्म जानेगरेको घटना यदाकदा सुन्ने गरेका छौं ।

आधुनिक कृषिको अभ्याससँगै फलफूल तथा तरकारीमा विषादी हाल्ने चलन हवात्त बढेको हो । यसै गरि तरकारी तथा फलफूहरुलाई चाडै पकाउन र आकर्षक देखाउन पनि विभिन्न किसिमका रासायनिक पदार्थहरु पनि हाल्ने गरिन्छ । यसरि अन्धधुन्द हालिएका विषादीहरूका कारणले आज हरकोहि व्यक्ति यसको सिकार बन्दै गइरहेका छन् । फलतः आज मानव स्वास्थ्य झन विकराल बन्दै छ । यस परिपेक्षमा तपाईं-हामी सबै सचेत हुन आवश्यक छ । फलफूल तथा तरकारीमा हालिएको विषलाई निस्तेज नगर्ने हो भने यसले हाम्रो स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ । विषादीको कारणले उत्पन्न हुने गम्भीर स्वास्थ्य समस्याबाट बच्न निम्नलिखित विधिहरूद्वारा फलफूल तथा तरकारीलाई विषमुक्त पार्न सकिन्छ ।

उपाय नं.- १ सिधेनुन (Rock Salt) र पानीको घोलमा डुबाउने
विषादी हालिएको फलफूल तथा तरकारीलाई सिधेनुन र पानीको घोलमा २०-२५ मिनेट डुबाउँदा ९७ प्रतिशत विषादीलाई निस्तेज पार्न सकिन्छ । सिधेनुनलाई पहाडी नुन वा भोटेनुन पनि भनिन्छ । यो नुन खानीबाट निकाल्ने गरिन्छ । सिधेनुनद्वारा फलफूल तथा तरकारीलाई विषमुक्त गर्न एउटा ठूलो भाडाँमा तरकारी डुब्ने गरी पानी लिएर पानीको २ प्रतिशत सिधेनुन हाली घोल्नुपर्छ । अब यो घोलमा विषादी हटाउनुपर्ने फलफूल तथा तरकारी हाली २०-२५ मिनेट जति छोडी दिनुहोस् । सिधेनुनले विस्तारै विषादीलाई निस्तेज पारिदिन्छ । २५ मिनेटपछि फलफूल तथा तरकारीलाई निकालेर धाराको पानीले मजाले धुनुहोस् । यसरी धोएको फलफूल तरकारी ९७ प्रतिशत विषादी एवं किटनाशकरहित हुन्छ । सिधेनुन नभए साधारण नुन-पानीमा पनि डुबाउन सकिन्छ ।

उपाय नं.- २ साधारण नुन (Common Salt) र पानीको घोलमा डुबाउने
समुद्रबाट निकालिएको नुनलाई साधारण नुन भनिन्छ । यो नुन हाम्रो भान्सामा प्रयोग गरिने नुन हो । नुनद्वारा फलफूल तथा तरकारीलाई विषमुक्तगर्न उपाय नं. १ मा जस्तै एउटा ठूलो भाडाँमा तरकारी डुबाउन सक्ने जति २ प्रतिशत नुन हाली घोल्न बनाउनुहोस् । अब यो घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा तरकारीलाई २०-२५ मिनेट डुबाएर छोडिदिनुहोस् । २५ मिनेटपछि फलफूल तथा तरकारीलाई निकालेर धाराको पानीले मजाले धुनुहोस् ।

उपाय नं.- ३ खाने सोडाको (Baking Soda) घोलमा डुबाउने
एउटा ठूलो भाडामा साग सब्जी र फलफूल डुबाउन मिल्ने जति पानी हालेर त्यसमा २५ खाने सोडा (बेकिङ पाउडर/सोडियम वाईकार्बोनेट) हाल्नुहोस् । अब यस घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा तरकारी हालेर त्यसलाई २०-३० मिनेटका लागि छाडिदिनुहोस् । खाने सोडाको घोलले फलफूल तथा तरकारीमा भएको विषलाई निस्तेज गरिदिन्छ । यसपछि पुनः धाराको पानीले मजाले धुनुहोस् र प्रयोगमा ल्याउनुहोस् ।

उपाय नं.- ४ अमिलो वा भिनेगरको प्रयोग
एक गिलास पानीमा आधाकप ह्वाइट भिनेगर वा अमिलो मिलाएर बनाएको घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा सब्जीलाई एक/एक गरी डुबाई यसै मिश्रणले मिचिमिची धोएर १० मिनेट त्यतिकै छोडिदिनुहोस् । १० मिनेटपछि धाराको पानीले सफासँग धोएर प्रयोगमा ल्याउनुहोस् ।

उपाय नं.- ५ बेसार र तातो पानीको प्रयोग
एक लिटर तातो पानीमा ५-६ चम्चा शुद्ध बेसार हालेर त्यसमा केहीबेर फलफूल तथा तरकारीलाई डुबाई राख्ने र केही समयपछि सोही बेसार पानीले मिचिमिची धुने । ततपश्चात् पुन: धाराको पानीले धुनुहोस् । यसो गर्दा तरकारी विषमुक्त हुन्छ ।

उपाय नं.- ६ तातो पानीको प्रयोग
तातो पानीमा फलफूल तथा तरकारीलाई धुँदा फलफूल चम्काउन प्रयोग गरिने मैनको पत्र (Wac Coat) हटाउन र केही विषादीहरु छुटाउन सकिन्छ ।

उपाय नं.- ७ बोक्रा निकालेर खाने गरौं
यसो त फलफूल तथा तरकारीको बोक्रा हाम्रो शरीरका लागि अत्यन्त पौष्टिक तथा स्वस्थकर हो तर आजकल फलफूल तथा तरकारीमा भरमार विषादी एवं कीटनाशक हालिएको हुनाले बोक्रा छिलेर खाँदा ९० प्रतिशत विषको प्रभावबाट बच्न सकिन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया