सोमबार, वैशाख २४, २०८१

रुकुमपश्चिममा ५४ जनालाई छोरी–बुहारी छात्रवृत्ति

नेपालखोज २०८० असोज २० गते २०:३७

रुकुम । रुकुमपश्चिममा कर्णाली प्रदेशको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत ५४ जनाले छात्रवृत्ति पाएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्ष प्रदेशबाट दुई जनालाई छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास मन्त्रालयले आव २०७७-७८ देखि जिल्लामा रहेको समाजिक विकास कार्यालयबाट छात्रवृत्ति दिन थालेको हो ।

आव २०७६/७७ मा १० जना, २०७७/७८ मा पनि १० जना, २०७८/७९ मा २० जना र गत आवमा १२ जना गरी ५४ जनाले छात्रवृत्ति पाएका हुन् ।

आव २०७५/७६ मा प्रदेश निर्देशनालयले छात्रवृत्ति वितरण गरेको र जिल्लामा त्यसको तथ्याङ्क नभएकाले कति जनाले छात्रवृत्ति पाएभन्ने यकिन जानकारी नभएको सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आर्चायले बताए ।

उनका अनुसार दुई आर्थिक वर्षमा एक लाख र गत आवमा ५० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।

तीनवर्षे प्राविधिक शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारीलाई मात्र एक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरिएको प्रमुख आर्चायले जानकारी दिए । आव २०७६/७७ र २०७७/७८ मा एक लाख र २०७८/७९ मा रु ५० हजारमात्रै छात्रवृत्ति प्रदान गरिएको हो ।

यो वर्ष पनि २० जनाका लागि रकम माग गरिएको छ । यो कार्यक्रमले आर्थिक अभावमा पढ्न नपाएका छोरी–बुहारीलाई सहयोग पुगेको छ ।

प्रतिक्रिया