आफ्नो बचाऊमा भौतिक पूर्वाधारमन्त्री रेणु यादव

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएपछि विवादमा परेकी भौतिक पूर्वाधारमन्त्री रेणु यादवले आफ्नो बचाउ गरेकी छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले बचाउ गरिन् ।
पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । सभामा उनले सिके राउतविरूद्ध विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । जनमत पार्टीका अध्यक्ष सीके राउतविरूद्ध लक्षित भाषण गर्दै मन्त्री यादवले गौर हत्याकाण्ड दोहोरिन सक्ने धम्की दिइन् ।
राउतका कार्यकर्ताले आफूलाई अवरोध गर्न खोजेपछि मन्त्री यादवले आक्रोषपूर्ण भाषण गर्दै राउतलाई धम्की दिएकी थिइन् । मन्त्री यादवले भनिन्, ‘तुफानसँग टकराउनु भयो भने तपाईंको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । इतिहासलाई नबिर्सनुस्, म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु । तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस् । चिरफार गर्नुभयो भने बिरामी मर्नेछन्। फेरि घेराबन्दी गरेर तपाईंलाई मारिदिनेछन् । त्यसैले बस तपाईं रिसर्चमात्रै गर्नुहोस् ।’
आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्ति दिएको बताएकी छिन् ।
पछिल्लो समय विभिन्न माध्यमहरूले कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको भन्दै आफनो गम्भीर ध्यानाकर्षण भएको उनले बताइन् ।
उनले कसैलाई उत्तेजित पार्ने मनसाय नभएकाे स्पष्ट पारिन् । उनले भनिन्, ‘वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछुु । मेरो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रूपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु ।’
उनले विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई पदमुक्त गर्न माग उठिरहेको छ।


प्रतिक्रिया