शुक्रबार, वैशाख १४, २०८१

खुद मुनाफा आर्जनमा मुक्तिनाथ अघि, गरिमा पछि-पछि

कुन विकास बैंकले कति कमायो ? खुद मुनाफा हेर्नुहोस् यस्तो छ पछिल्लो वित्तीय अवस्था :

नेपालखोज २०७८ माघ ११ गते १३:४४

काठमाडौं । क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंकले वित्तीय कारोबार सञ्चालन गर्दै आएकामा यही माघ ११ गते मंगलबारसम्ममा १४ वटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाहरूमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ ।

चालु आवको दोस्रो त्रैमासमा मुक्तिनाथले ६० करोड २४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने मुक्तिनाथको यस्तो नाफा ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ थियो । खुद मुनाफा आर्जनमा दोस्रो स्थानमा परेको गरिमा विकास बैंकले चालु आवको दोस्रो त्रैमासमा ४२ करोड २९ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा गरिमाको यस्तो नाफा ३९ करोड ३५ लाख ९० हजार रुपैयाँ थियो ।

लुम्बिनी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः ३५ करोड १७ लाख ४४ हजार, ३४ करोड ८८ लाख ३० हजार र ३४ करोड ४० लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः २६ करोड १८ लाख ८५ हजार, २६ करोड ११ लाख ११ हजार र ३० करोड ५५ लाख ९९ हजार रुपैयाँ थियो ।

यसैगरी कामना सेवा, सांग्रिला र महालक्ष्मी विकास बैंकले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः ३४ करोड ३६ लाख ८१ हजार, २६ करोड १८ लाख २२ हजार र १९ करोड ५५ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरूको यस्तो नाफा क्रमशः ३९ करोड ४७ लाख, १६ करोड ४८ लाख पाँच हजार र १४ करोड ८६ लाख ५९ हजार रुपैयाँ रहेको थियो । सिन्धु र मितेरी डेभलपमेन्ट बैंकले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः तीन करोड ५५ लाख ५४ हजार र ६ करोड ८० लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा तीन करोड ३९ लाख तीन हजार र ६ करोड ९८ लाख ६ हजार रुपैयाँ थियो ।

कर्णाली डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासमा एक करोड ६३ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने कर्णालीको यस्तो नाफा एक करोड ८३ लाख ५१ हजार रुपैयाँ थियो । यसैगरी नारायणी डेभलपमेन्ट बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा ५९ लाख ९८ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो नोक्सानी ८४ लाख ४१ हजार रुपैयाँ थियो ।

कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासमा ३० लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कर्पोरेटको यस्तो नाफा एक करोड २७ लाख ९७ हजार रुपैयाँ रहेको थियो । ग्रिन डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासमा १८ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा ग्रिनको यस्तो नाफा २९ लाख ४४ हजार रुपैैयाँ रहेको थियो ।

यीबाहेक सप्तकोसी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सहारा विकास बैंकले अझैसम्म पनि चालु आवको दोेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

चालु आवको दोस्रो त्रैमासमा विकास बैंकहरूले कमाएको खुद मुनाफा (रकम रु. हजारमा)

प्रतिक्रिया