शुक्रबार, वैशाख ७, २०८१

नबुझ्नेहरूले सेयर बजारलाई जुवा भने : अध्यक्ष पोखरेल

नेपालखोज २०७८ माघ ११ गते १५:३३

काठमाडौं । नेपाल पुँजी बजार लगानी कर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर बजारलाई नबुझ्नेहरूले ‘जुवा’ भन्ने गरेको दाबी गरेकी छन् । नेपालखोजसँग कुराकानी गर्दैै उनले सेयर कारोबार जुवा खेल नभएको बताइन् । उनले नबुझ्नेहरूले नै यसलाई जुवा भन्ने गरेको ठोकुवा गरेकी छन् ।

अध्यक्ष पोखरेलले केही शीर्ष राजनीतिज्ञको अभिव्यक्ति आउँदा सेयर बजारलाई जुवा भन्ने गरेको प्रष्ट पारिन् । उनी भन्छिन, बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सेयर बजार जुवा घर हो भनेका थिए, युवराज खतिवडाले पनि सेयर बजार भनेको उत्पादनमुलक क्षेत्र हैन भनेका छन्, भर्खरै प्रचन्डले पनि सेयर बजार भनेको चाहिँ पुँजीपतिको लागि मात्रै हो भने ।’

उनले जस्तो पायो त्यस्तै कम्पनीमा लगानी गरेचाहिँ त्यो जुवा नै हुने बताइन् । उनी भन्छिन्, ‘सेयर बजार भनेको आफ्नो मुठीमा भएको सम्पति हो, घरजग्गा जसरी सबै बेच्न पर्दैन । सेयरलाई एक हजारदेखि बेच्न सकिन्छ । सेयर एक हिस्सा हो ।’ अध्यक्ष पोखरेलले सेयर बजारलाई विभिन्न घटनाले असर पार्ने बताइन् । समयसमयमा फैलिने अफबाह, राजनीतिक अवस्था, तरलतालगायतले गर्दा सेयर बजारमा उतरचढाव हुने गरेको उनको दाबी छ ।

पोखरेल पुनः भन्छिन्, ‘जागिर खानेहरुले एउटा मात्र सेक्टर रोज्छन् भने सेयर बजारमा लाग्नेले विभिन्न सेक्टरमा काम गर्न सक्छन् । सेयर बजारमा काम गर्नका लागि छुटै अफिस नचाहिने हुन्छ ।’ आफूसगँ मोबाइल र थोरे पुँजी भए काम गर्न सकिने उनी बताउँछिन् ।

अध्यक्ष पोखरेलले थोर भए पनि सेयरका बारेमा ज्ञान लिएर मात्र अगाडि बढ्न नेपालमै बसेर केही गर्न चाहाने युवालाई सुझाव दिएकी छन् । विभिन्न युट्युब, सामाजिक सन्जालमा बुझेर–सिकेर लगानी गर्दै युवापुस्ता सेयर बजारमा आउँदा एकदमै उपयुक्त हुने पोखरेलको बुझाइ छ । सेयर वजार क्यापिटल गेम भएको बताउँदै उनले बीचमा बजार बढ्यो भने फाइदा हुने जनाइन् ।

प्रतिक्रिया