कोरोना संक्रमित सबै होम आइसोलेसनमा

काठमाडौं । कोभिड–१९ बाट संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा बस्ने गरेको पाइएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरका बेला विभिन्न आइसोलेसन केन्द्र र अस्पताल भरिभराउ भए पनि यसपटक संक्रमित घरमै बसेका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दैनिक ४८ प्रतिशत संक्रमित थपिँदै गएपनि अस्पतालमा भर्ना हुनेको संख्या निकै न्यून रहेको जनाएको छ । प्रदेश अस्पताल सुर्खेतमा हाल १२ जना मात्र कोरोनाका बिरामी छन् । निर्देशनालयका अनुसार सोमबार गरिएको ६० जनाको पिसिआर परीक्षणमा ५१ तथा १७८ जनाको एन्टिजन परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको थियो । सबै संक्रमित होम आइसोलेसनमै रहेको पाइएको छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले संक्रमित घरमै रहे पनि उनीहरुको स्वास्थ्य अवस्थाबारे निगरानी राख्ने गरिएको बताए । “संक्रमित घरमै बसेर औषधि सेवन तथा स्वास्थ्य परामर्श लिइरहेको पाइएको छ,” उनले भने, “यसपटक कोरोना पोजिटिभ हुनेहरुमा टाउको दुख्ने, आँखा पोल्ने, शरीर दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ, घरमै बसेर निको हुने भएपछि अस्पताल वा आइसोलेसन सेन्टरमा नआएको पाइएको छ ।”
जिल्ला प्रहरी कार्यालयले मास्कविना हिँड्डुल गर्नेबाट प्रतिव्यक्ति रु १०० जरिवाना असुल गर्ने गरेको छ । आइतबारदेखि मास्क जरिवानाबापत रु ६ हजार ६०० संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया