बुधबार, वैशाख १२, २०८१

‘नेपालको विकासमा भारतको सहकार्य जारी रहनेछ’

‘द्विपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार दिएको छ’

नेपालखोज २०७८ माघ १२ गते ११:२३

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य जारी रहने बताएका छन् । राजदूत क्वात्राले भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा आज (मंगलबार) दिएको शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै द्विपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताएका छन् । ‘सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको छ’, उनले भनेका छन् ।

राजदूत क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच ग्लास्गोमा सम्पन्न कोप–२६ सम्मेलनका क्रममा भएको साइडलाइन वार्ता, भारतीय विदेशमन्त्री डा. एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा भएको साइडलाइन बैठकले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको प्रसंग पनि सो सन्देशमा उल्लेख गरेका छन् ।

राजदूत क्वात्राले जयनगर–कुर्था–विजुलापुर र जोगबनी–विराटनगरलाई जोड्ने अन्तरदेशीय रेलमार्ग, भूकम्पले भत्काएका नुवाकोट र गोरखामा भारत सरकारको पुनःनिर्माणमा सहयोग एवं नेपालको अनुरोधमा युरिया र डिएपी मल आपूर्तिलाई प्राथमिकता दिएको प्रसंग पनि राजदूत क्वात्रालेसन्देशमा उल्लेख गरेका छन् ।

कोभिड–१९ को सङ्क्रमणका क्रममा खोप, आइसीयू शय्या, मेडिकल अक्सिजन प्लान्टलगायतको सहयोग भारतले उपलब्ध गराएको बताउँदै राजदूत क्वात्राले कोभिडसम्बन्धी कडा प्रतिबन्धका बाबजुद पनि दुवै देशको व्यापार निर्वाध ढंगले अगाडि बढेको जनाएका छन् ।

प्रतिक्रिया