आइतबार, जेठ ६, २०८१

राष्ट्रियसभा निर्वाचनको मतदान जारी, यी हुन् केन्द्र

नेपालखोज २०७८ माघ १२ गते १२:५७

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरु भएको छ ।

सातवटै प्रदेशहरुमा तोकिएका मतदान स्थलमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ३ बजेसम्म जारी रहनेछ । जसअनुसार प्रदेश १ मा दुईवटा मतदान स्थल तोकिएको छ । गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानको व्यवस्था गरिएको छ ।

त्यसैगरी मधेस प्रदेशमा जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, हेटौंडामा वाग्मती प्रदेशको, प्रदेश निर्वाचन कार्यालय पोखरामा गण्डकी प्रदेश, कर्मचारी मिलन केन्द्र, दाङमा लुम्बिनी प्रदेशको मतदान भइरहेको छ ।

कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदान भइरहेको छ भने सुदूरपश्चिम प्रदेशको प्रदेशसभा भवन धनगढीमा मतदान भइरहेको छ ।

सातै प्रदेशको कुल मतदाता २०२५ जना छन् । जसअनुसार प्रदेश १ मा प्रदेशसभा सदस्य ९२ जना र स्थानीय तहको २७२ जना सदस्यले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नेछन् । मधेस प्रदेशमा १०४ जना प्रदेश सदस्य र स्थानीय तहको २६८ जनागरी ३७२ जना मतदाता छन् ।

वाग्मती प्रदेशमा ३४६ जना, गण्डकीमा २२९ जना, २९६ जना लुम्बिनी प्रदेशमा, कर्णालीमा १९१ जना र सुदूरपश्चिम प्रदेशमा २२७ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले मिलेर उम्मेद्‌वारी दिएका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक्लै भिड्दै छ ।

प्रतिक्रिया