शनिबार, जेठ ५, २०८१

धौलागिरि लघुवित्तको ३ लाख कित्ता आईपीओ आउँदै, सनराइज क्यापिटल बन्यो बिक्री प्रबन्धक

नेपालखोज २०७८ माघ १२ गते १८:२३

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । बागलुङमा केन्द्रीय कार्यालय रहेको संस्थाले निष्कासन गर्नुपर्ने तीन करोड रुपैयाँबराबरको तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा वित्तीय प्रबन्धकमा नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।

उक्त कार्यका लागि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहोरा तथा सनराइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच बुधबार सम्झौता भएको छ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ । यसले २०७८ पुस मसान्तसम्ममा नेपालका २० जिल्लामा ४६ शाखा कार्यालयमार्फत कुल एक सय ९१ कर्मचारी परिचालन गरी ३४ हजार चार सय ३८ सदस्यलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानीतर्फ एक अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ ६२ करोड १४ लाख रहेकामा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रुपैयाँ छ ।

हाल चुक्ता पुँजी सात करोड रहेकामा सार्वजनिक सेयर निष्कासन भएपश्चात १० करोड चुक्ता पुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरूतर्फ कुल १० करोड ३८ लाख छ । आर्थिक वर्ष ०७७–७८ को असार मसान्तसम्ममा वित्तीय संस्थाको वितरणयोग्य मुनाफा दुई करोड ६० लाख रुपैयाँ रहेकामा पुस मसान्तसम्म आइपुग्दा उक्त वितरणयोग्य मुनाफा चार करोड नौ लाख पुगेको छ ।

आर्थिक वर्ष ०७७–७८ को मसान्तमा प्रतिसेयर आम्दानी ५० रुपैयाँ १२ पैसाभन्दा बढी कायम गरेकामा पुस मसान्तसम्ममा आइपुग्दा ६१ रुपैयाँ ४५ पैसा प्रतिसेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहोराले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया