आइतबार, जेठ ६, २०८१

वाग्मतीमा गठबन्धनका उम्मेदवार विजयी

नेपालखोज २०७८ माघ १२ गते १९:५५

मकवानपुर । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आवद्ध छन् ।

तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार र नेमकिपाकी गीता काफ्लले १ सय ३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनका कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् ।

प्रतिक्रिया