निर्वाचनबारे छलफल गर्न देउवाले बोलाए कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनबारे महत्वपूर्ण निर्णय लिन शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचनको मिति तोक्नको लागि निर्वाचन आयोगले सरकारलाई ताकेता गरिरहेको छ ।
कांग्रेसले कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट बैठक बोलाएको हो । पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पर धकेल्नेगरि छलफल चलिरहेको छ । कांग्रेसमा भने त्यस्तो कदम नचाल्न सभापति शेरबहादुर देउवालाई नेताहरुले दबाब दिईरहेका छन् । प्रधानमन्त्री देउवा भने कुनैपनि हालतमा गठबन्धन आगामी निर्वाचनसम्म लैजाने रणनीतिमा छन ।
डा. शेखर कोइराला समूहले भने पाँच दलीय गठबन्धनमाथि नै प्रश्न उठाउन थालेको छ । शेखर समूहले बैशाखमा नै स्थानीय तहको निर्वाचन गर्नेगरि मिति तोक्न प्रधानमन्त्री देउवालाई दबाब दिईरहेको छ । बैठकमा गठबन्धन तोड्न देउवालाई दबाब दिने चर्चा पनि चलेको छ । देउवाले गठबन्धनबारे पनि बैठकमा जानकारी गराउने बताइएको छ ।
बैठकमा कार्यसम्पादन समितिबारे पनि छलफल हुने बताइएको छ । केन्द्रीय समितिको आकार ठूलो भएकाले देउवा कार्यसम्पादन समिति बनाएर अघि बढ्ने योजनामा रहेको बताइन्छ । देउवाले सानो आकारको कार्यसम्पादन समिति बनाउने चर्चा चलेको छ । उनले कार्यसम्पादन समितिमा आफु निकटलाई बढी प्राथमिकता दिने बुझिएको छ ।

प्रतिक्रिया