शुक्रबार, वैशाख २१, २०८१

आहा रारा गोल्डकपको फाइनलमा मनाङ, विजेताले १० लाख रुपैयाँ पाउने

नेपालखोज २०७८ माघ १३ गते १७:४८

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ फाइनल प्रवेश गरेको हो ।

त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको हो । पोखरा रङ्गशालामा भएको खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा चार–तीन गोलले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।

खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेनन् । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले अब उपाधिका लागि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।

बुधवार मच्छिन्द्रलाई तीन–एक गोलले हराउँदै एपीएफ फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया