शुक्रबार, जेठ ४, २०८१

कर्णाली प्रदेशसभाले स्थापना दिवस मनाउने

नेपालखोज २०७८ माघ १३ गते २१:३५

जुम्ला । कर्णाली प्रदेशसभाले विभिन्न गतिविधि सञ्चालन गरी आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले माघ २१ गते प्रदेशसभा दिवसका रूपमा मनाउन साताव्यापी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार चौथो स्थापना दिवसको अवसरमा प्रदेशसभा परिसर सरसफाइ गर्ने, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विभिन्न क्षेत्रका युवाको भौतिक र भर्चुअल उपस्थितिमा अन्तक्र्रिया गर्ने, युवा विद्यार्थीलाई प्रदेशसभाको अवलोकन गराउने, वृत्तचित्र प्रदर्शनी गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।

त्यस्तै १० जना विद्यार्थीको सहभागितामा ‘म प्रदेशसभा सदस्य भएँ भने’ शीर्षकमा वतृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन माघ २१ गते दिउँसो जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी औपचारिक समारोह आयोजना गरिने बताए।

समारोहमा कर्णालीका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत प्रदेशका उच्चपदस्थ अधिकारीलाई आमन्त्रण गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया