शुक्रबार, जेठ ४, २०८१

बालुवाटारमा घनिभूत छलफल, ऐन संशोधन गरेर स्थानीय चुनाव नगर्ने रणनीति

नेपालखोज २०७८ माघ १४ गते १३:३०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनका सम्बन्धमा सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफल गरेका छन् । देउवाले आज बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे ।

गठबन्धनका शीर्ष नेताबीच स्थानीय तहको निर्वाचन, ऐन संशोधनलगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ । देउवालाई कांग्रेसका नेताहरुले स्थानीय निकायको चुनाव वैशाखमै गर्न दबाब दिइरहेका छन् । तर, देउवाले गठबन्धनसँग सल्लाह र सुझाव लिएर मात्र अगाडि बढ्न खोजेको देखिएको छ ।

प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटमा राष्ट्रपति भण्डारीले पनि स्थानीय तहको निर्वाचनका बारेमा चासो व्यक्त गरेकी थिइन् । भण्डारीले चुनाव वैशाखमा गर्न देउवालाई दबाब दिएकी थिइन् । देउवाले भण्डारीसँगको भेटपछि शीर्ष नेतासँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्ड र नेपाल चुनाव वैशाखमा नगर्ने पक्षमा छन् । छलफलमा दुवै नेताले तीनै तहको चुनाव एकैपटक गर्दा आर्थिकभार कम हुने सुझाव दिएको बुझिएको छ । उनीहरुले प्रतिनिधिसभाको चुनाव गरेर मात्र स्थानीय चुनावबारे सोच्नुपर्ने प्रधानमन्त्रीलाई सुझाव दिएको बताइएको छ । वैशाखमा स्थानीय चुनाव भए गठबन्धनलाई धक्का पुग्ने अनुमान प्रचण्ड र नेपालकाे छ ।

तीनै तहको चुनाव फागुनमा गर्नेबारे पनि छलफल भएको बताइएको छ । भर्खरै सम्पन्न राष्ट्रियसभा चुनावको विषयमा पनि छलफल भएको जनाइएको छ । नेकपा एमालेले एक सिट जितेकाले गठबन्धनको उम्मेद्वारलाई धोका भएको बुझाई उनीहरुको छ ।

प्रतिक्रिया