शुक्रबार, जेठ ४, २०८१

निर्माणाधीन सडकको नालीमा गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पुर्जी

नेपालखोज २०७८ माघ १४ गते १७:४४

काठमाडौं । माघ ९ गते भरतपुरको गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा परेर गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ठेकेदारलाई पक्राउ गर्न बिहीबार पक्राउ पूर्जी जारी भएको हो ।

सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । निकुञ्जले अनुसन्धान अधिकृत तोकेर काम अगाडि बढाएसँगै ठेकेदार कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पूर्जी जारी गरिएको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

वन तथा वातावरण मन्त्रालयले समेत वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ । समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन । समितिले १० दिनभित्र प्रतिवेदन बुझाउने छ ।

डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सडकले वन्यजन्तु करिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानून अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाएको छ । हालसम्म भने खड्का पक्राउ परेका छैनन् ।

प्रतिक्रिया